१४ मंसिर २०८३, आईतवार

देउवालाई मधेस प्रदेश सभापति यादवको साथ: प्रचण्ड र माधवसँग हैसियतअनुसार तालमेल गर्नुपर्ने

एसीपी संवाददाता

१४ चैत्र २०७८, सोमबार ०८:१० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले स्थानीय तह निर्वाचनमा चुनावी तालमेल आवश्यक रहेको बताएका छन् ।

राजधानीमा शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने क्रममा यादवले केन्द्रीय सभापति शेरबहादुर देउवालाई साथ दिँदै कम्युनिस्टहरु निष्तेज पार्न र कांग्रेस बलियो बनाउन गठबन्धन गर्नुपर्ने धारणा राखेका हुन् ।

‘अहिले हाम्रो गठबन्धनको सरकार छ । गठबन्धन सरकारमा पनि हाम्रा साथीहरू एकदमै अहम् भूमिकामा हुनुहन्छ । उहाँहरूको पनि मर्यादा र आवश्यकतालाई ध्यान दिएर हामीले गठबन्धनलाई निरन्तरता दिनुपर्छ,’ उनले भने । तर गठबन्धन गर्दा हैसियतअनुसार गर्नुपर्ने माग उनले राखे। साथै गठबन्धनको अधिकार तल्लो तहलाई नै दिनुपर्ने उनले माग गरे ।

‘रह्यो कुरो सबै ठाउँमा गठबन्धनभन्दा पनि जहाँ जसको जसको बाहुल्यता छ, जसले चुनाव जित्न सक्छ त्यसलाई अर्को दलले छोडिदिनुपर्छ भन्ने मेरो मान्यता हो । त्यसको छिनोफानो अर्थात् निर्णय स्थानीय तहले नै गर्नुपर्छ,’ उनले भने, ‘अब क्षेत्र छ, जिल्ला छ, प्रदेश छ । ती कमिटीहरूले साक्षात् रूपले कसको कहाँ के आवश्यकता छ, कस्तो हैसियत छ भन्नेबारे जानकार हुन्छन् । हैसियतअनुसार तालमेल हुनुपर्छ ।’

स्थानीय निकायमा जसको बाहुल्यता छ त्यसलाई नेतृत्व दिने मोडालिटीमा गठबन्धनमा रहेका दलहरूका बीचमा चुनावी तालमेल गर्नुपर्ने उनको सुझाव छ । ‘त्यो ठाउँमा अर्को दललाई उसको उपस्थिति कस्तो छ, त्यही हिसाबले उसलाई उपप्रमुख दिने,’ उनले भने, ‘वडाहरूमा पनि हामीले सेयर गर्नुपर्छ । जहाँ जुन फर्मुला लागू हुन सक्छ, त्यो सबै मोडालिटीमा जान सकिन्छ ।’

सभापति यादव पार्टीको विधानअनुसार महानगरहरूको तालमेल केन्द्रले गर्नुपर्ने र त्यो अधिकार केन्द्रको भएकाले केन्द्रीय नेताहरू बसेर टुंगो लगाउनुपर्ने बताउँछन्। ‘प्रदेशको जुन जिम्मेवारी छ, त्यसको टुंगो प्रदेशले, जिल्लाको जिम्मेवारी जिल्लाले र क्षेत्रको जिम्मेवारी क्षेत्रले टुंग्याउनुपर्छ,’ उनले भने ।

विधानमा भएको व्यवस्थाअनुसार टिकट वितरणका लागि चार तहका संसदीय समिति गठन गर्नुपर्ने र त्यसैअनुसार विधानमा जुन–जुन तह भनिएको छ, त्यहीअनुसार त्यही ठाउँका दलहरूका प्रतिनिधि बसेर तालमेल गर्नुपर्ने उनको सुझाव छ। ‘किनभने यसरी तालमेल गर्दा यथार्थ तालमेल हुन्छ। यथार्थ विवरण आउँछ। मानौं, एउटा अमुक कमलामाई नगरपालिकामा दलहरूको पोजिसन केन्द्रीय नेतृत्वलाई सबै थाहा हुन्न,’ उनले भने, ‘त्यहाँको यथार्थ त त्यहीँका साथीहरूलाई थाहा हुन्छ नि! त्यो ठाउँमा कांग्रेस बलियो हो कि माओवादी, जसपा बलियो हो कि भन्ने कुरा ।’

चुनावमा हाम्रो प्रतिपक्ष नेकपा एमालेलाई फेस गर्न सक्ने क्षमता कांग्रेसमा छ कि छैन त्यो पनि विचार गर्नुपर्ने उनको सुझाव छ । यदि क्षमता छैन भने गठबन्धन गरिएका दलहरूबाट उम्मेदवार अघि सार्न सकिने उनको भनाइ छ । ‘प्रतिद्वन्द्वीलाई कसरी गलाउन सकिन्छ, हामीले त्यसमा केन्द्रीत भएर तालमेलको कुरा टुंग्याउनुपर्छ। यसका लागि स्थानीय तहबाट गर्दा राम्रो र सजिलो हुन्छ। चुनावी तालमेल गर्नु अपरिहार्य छ,’ उनले भने।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x