८ आश्विन २०८३, बिहीबार

दार्चुला र धादिङमा स्वास्थ्य चौकी र सिचाइका लागि ७ करोड भारतीय सहयोग

एसीपी संवाददाता

२५ चैत्र २०७८, शुक्रबार ०७:१९ मा प्रकाशित

दार्चुलामा विद्यालय तथा स्वास्थ्य चौकी भवन र धादिङमा सिचाइ परियोजना निर्माणका लागि भारत सरकारले ७ करोड ८ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

दार्चुलाको जनविकास माध्यमिक विद्यालय, इरकोट स्वास्थ्य चौकी भवन र धादिङको महेशफाँट सिचाइ परियोजना निर्माणका लागि उक्त रकम सहयोग गर्ने भएको हो।

काठमाण्डौंस्थित भारतीय राजदूतावास तथा दुई जिल्लाका स्थानीय तह, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच सहयोग सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।

३ करोड ३७ लाख रुपैयाँ जनविकास माध्यमिक विद्यालय, २ करोड ५३ लाख रुपैयाँ इरकोट स्वास्थ्य चौकी भवन र १ करोड १७ लाख रुपैयाँ महेशफाँट सिचाई परियोजनामा खर्च हुनेछ ।

जनविकास माध्यमिक विद्यालय, इरकोट स्वास्थ्य चौकी भवन र महेशफाँट सिँचाइ परियोजनाको निर्माणका लागि भारतीय राजदूतावास तथा नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवम् क्रमशः दुहँुु गाउँपालिका, दार्चुला, नौगाड गाउँपालिका, दार्चुला र गल्छी गाउँपालिका, धादिङबीच तीनवटा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको भारतीय राजदुताबासले जनाएको छ।

भारत सरकारको आर्थिक सहयोगमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत यी संरचना निर्माण हुन लागेका हुन् ।

परियोजना निर्माणले स्थानीय बासिन्दाहरुलाई राम्रो शिक्षा र राम्रो स्वास्थ्य सेवा सुविधा प्रदान गर्नुका साथै कृषि र बाली उत्पादन बढाउन स्थानीय किसानहरुलाई मद्दत गर्ने भारतीय राजदुताबासका प्रबक्ता नविन कुमारले जनाएका छन्।
भारतले तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई तथा अन्य सार्वजनिक संरचनाहरुको निर्माण लगायतका लागि २०६० सालयता  ५२४ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ । यीमध्ये ४६७ वटा परियोजनाहरु सम्पन्न गरिसकेका छन् ।

दार्चुलामा ६ वटा परियोजनासहित प्रदेश ७ मा ३२ वटा परियोजनाहरुलाई अघि बढाइएको तथा धादिङमा ३ वटा परियोजनासहित प्रदेश ३ मा १०२ वटा परियोजनाहरु अघि बढाइएको राजदूताबासले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x