केपी ओली सर्लाहीमा आउँदै गर्दा एमालेका भेट्रान नेताहरु कांग्रेस प्रवेश, सभापति सिंहसँग काम गर्न पार्टी प्रवेशको ओइरो
सर्लाही । सत्तारुढ नेपाली कांग्रेस सर्लाहीमा पार्टी प्रवेशको लहर चलेको छ । स्वतस्फूर्त रुपमा विभिन्न पार्टीका केन्द्रीय, क्षेत्रीय, पालिका र वडास्तरमा प्रभाव राख्ने नेताहरु सर्लाही कांग्रेसमा प्रवेश गरिरहेका छन् ।
खासगरी कांग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा सुरेन्द्र प्रसाद सिंह आएपछि उनको कार्यशैलीबाट प्रभावित हुँदै विभिन्न दलका कार्यकर्ता दिनहुँ कांग्रेस प्रवेश गरिरहेका छन् ।
यसैक्रममा नेकपा एमालेका सयौं नेताकार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् । सभापति सिंहसँग काम गर्न एमाले नेता कार्यकर्ता यस्तो बेला कांग्रेस प्रवेश गरेका जतिबेला एमाले अध्यक्ष केपी ओली सर्लाही आउँदैछन् ।
एमाले अध्यक्ष ओली आज सर्लाही आउँदै गर्दा त्यसअघि नै एमालेलाई धक्का लागेको छ । विभिन्न ठाउँमा एमालेका नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् ।
कांग्रेस चन्द्रनगर गाउपालिकाले आयोजना गरेको नव बर्ष २०७९ को शुभकामना आदान प्रदान, पार्टी प्रबेश तथा सम्मान कार्यक्रममा एमालेका ५७ जना सहित जसपा, लोसपा र माओबादीबाट १५५ जनाले पार्टी प्रबेश गरेको कांग्रेस सर्लाहीले जनाएको छ ।
जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला उप सभापति डा. सरोज कुमार, नेता शम्भुलाल श्रेष्ठ, पुर्व सभापति सत्यदेवसिंह दनुवारको विशेष आतिथ्य रहेको थियो । त्यसतै कार्यक्रममा पार्टीका शीर्ष नेताहरुको पनि उपस्थिति रहेको थियो । त्यस्तै कांग्रेस गौडैता न.पा वार्ड नं ३ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले सर्लाहीका प्रभावशाली नेता रामईश्वर महतोको नेतृत्वमा ५०५ जनाले पार्टी प्रवेश गरेका छन् ।
मधेस प्रदेशका पार्टी उपसभापति एवम् प्रदेशका महिला युवा तथा खेलकुदमन्त्री विरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्य एवम् जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह र प्रदेश सांसद एवम् पार्टी प्रमुख सचेतक उपेन्द्र कुशवाहाको विशेष आतिथ्यमा भएको पार्टीका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।
पछिल्ला दिनमा कांग्रेसमा मेयरका उम्मेदवारदेखि निर्वाचित वडाध्यक्षसम्म प्रवेशको लहर छ । आम कार्यकर्ता तथा शुभेच्छुक सभापति सिंहको भिजन र कार्यशैलीबाट प्रभावित रहेको चर्चा छ । जसको नतिजा पनि विभिन्न घटनाले देखाएको छ ।


