१४ मंसिर २०८३, आईतवार

नेपालको अर्थतन्त्र श्रीलंका जस्तै हुँदै जाने खतरा

एसीपी संवाददाता

९ बैशाख २०७९, शुक्रबार ०५:५७ मा प्रकाशित

काठमाडौं ।  देशको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा पुग्दा समेत वर्तमान सरकार गम्भीर नबनेको अर्थविद्हरूले बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आज राजधानीमा आयोजना गरेको अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपायहरू शीर्षकको कार्यक्रममा बोल्दै वक्ताहरूले समयमा समाधानको पहल नगरे नेपालको अर्थतन्त्र श्रीलङ्काको अवस्थामा पुग्ने चेतावनी समेत दिए ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अर्थतन्त्रका अधिकांश सूचक रातोमा गएकोले मुलुक गम्भीर सङ्कटमा धकेलिएको बताए । सरकारले गर्नुपर्ने काम नगर्ने तर नगर्नुपर्ने काम गर्ने प्रवृत्ति देखाएको आरोप लगाउँदै नेता ज्ञवालीले सरकारलाई फजुल खर्च रोक्न, विलासिताका वस्तु आयातमा नियन्त्रण गर्न, पुँजीगत खर्च बढाउन, नीतिगत रूपमा भएका सेटिङ् रोक्न र राष्ट्र बैङ्क माथिको हस्तक्षेप रोक्न आग्रह गरे ।

कैलालीमा रेशम चौधरीको पार्टी एक्लै लड्ने


यसै गरी कार्यक्रममा बोल्दै पूर्व गभर्नर तथा योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रवहादुर क्षेत्रीले आर्थिक विकासको वातावरण बनाउन पार्टीहरू गम्भीर नभएको बताए । बेरुजुको मात्रा बढेको, सुशासन कायम हुन नसकेको, पुँजीगत खर्च नबढेको बताउँदै क्षेत्रीले अर्थ मन्त्रालय र राष्ट्र बैङ्कबिच समन्वय हुनुपर्ने बताए । कृषि क्षेत्रमा उत्पादकत्व बढाउनको लागि अनुदान किसानको हातमा पुग्नुपर्ने समेत उनको सुझाव छ ।

यसै गरी पूर्व अर्थ सचिव रामेश्वर खनालले अर्थ मन्त्रालय र राष्ट्र बैङ्कबिच समन्वय नहुँदा पछिल्लो समय समस्या आएको बताए । वैदेशिक कर्जाले शुरु गरिएका आयोजनालाई समयमा नै सम्पन्न गर्नुपर्ने बताउँदै खनालले उत्पादनशील क्षमता बढाउन र चालु खर्चमा सन्तुलन ल्याउनुपर्नेमा जोड दिए ।

यसै गरी राष्ट्र बैङ्कका पूर्व गभर्नर डा. तिलक रावलले राम्रोसँग काम गरिरहेका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर वर्तमान सरकारले गलत गरेको बताए । राज्यले नै तस्करीलाई प्रोत्साहन गरेको आरोप लगाउँदै डा. रावलले विलासिताका सामान आयातलाई रोकेर निर्यात बढाउनुपर्ने बताए ।

यसै गरी परिषद्का अध्यक्ष तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले समाजवादी अर्थतन्त्र निर्माणका लागि पार्टी भन्दा माथि उठेर बौद्धिक हस्तक्षेप गर्नुपर्ने बताए । साथै उनले राष्ट्रिय पुँजी निर्माण गर्न, छरिएको पुँजीलाई एकीकृत बनाउन, उत्पादन बढाएर आयात घटाउन र समाजवादी अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x