१४ मंसिर २०८३, आईतवार

अग्नि सापकोटाको दादागिरीविरुद्ध उत्रिए माओवादी कार्यकर्ता, मनोनयनमै सभामुखका भतिजाहरूलाई लखेटे

एसीपी संवाददाता

१२ बैशाख २०७९, सोमबार १३:५९ मा प्रकाशित

काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा माओवादी केन्द्रभित्रको आन्तरिक झगडाले गर्दा दुई जना केन्द्रीय सदस्यहरूले रामधुलाई भेटेका छन् ।

सोमबार मनोनयन दर्ता गर्ने क्रममा माओवादीबाट चौतारा सागाचोक गढी नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउने क्रममा मेयरका आकांक्षी अमानसिंह तामाङको समूहले माओवादीका दुई जना केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’ र माधवप्रसाद सापकोटा ‘सुवोध’सहितका नेताहरूलाई कुटपिट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

कुटाइ खाने कृष्ण र माधव माओवादीका नेता एवम् सभामुख अग्निप्रसाद सापकोटाका भतिजाहरू हुन् । अग्निप्रसाद सापकोटाले भतिजा कृष्णप्रसाद सापकोटालाई मेयर बनाउन टिकट दिएपछि अमानसिंहको समूहले आक्रमण गरेको हो ।

अमानसिंहले यसअघि यो नगरपालिकामा माओवादीबाट मेयरमा जितेका थिए । यस पटक अग्निप्रसाद सापकोटाले अमानसिंहको टिकट काटेर भतिजा कृष्णप्रसादलाई दिएपछि अमानसिंहले एमाले, कांग्रेस वा अन्य दलबाट टिकटका लागि प्रयास गरेका थिए । कसैले पनि टिकट नदिएपछि अमानसिंहले स्वतन्त्रबाट उम्मेदवारी दिन थालेका थिए ।

माओवादीले टिकट काटिदिएको झोँकमा अमानसिंह र उनको समूहले माओवादीका केन्द्रीय सदस्य र माओवादीका नेताहरूलाई चौताराबाट लखेटेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ । माओवादी र अमानसिंहको समूहबीच झडप भएपछि नगरपालिकाको कार्यालयमा तोडफोड भएको छ ।

झडपका कारण स्थिति बिग्रिएपछि नेपाली कांग्रेसले मनोनयन दर्ता गराउन सकेको छैन । कांग्रेसका नेताहरूले प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गरेर मनोनयन दर्ताका लागि आग्रह गरेका छन् । सीडीओले मनोनयन दर्ताका लागि व्यवस्था मिलाउने आश्वासन दिएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x