जी ७ का नेताहरूले सहयोगका लागि युक्रेनका राष्ट्रपतिसँग छलफल गर्ने
विश्वका प्रमुख सात देशका नेताहरूले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गर्ने भएका छन् ।
अर्थतन्त्रमा मजबुत मानिएका ती देशका नेताहरूले युक्रेनलाई गर्न सकिने सहयोगका बारेमा छलफल गर्ने अधिकारीहरूले जनाएका छन् । जर्मन सरकारका एक जना प्रवक्ताले आगामी आइतबार उहाँहरूका बीचमा छलफल हुने शुक्रबार जानकारी दिएका छन् । बैठकमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले देशको अहिलेको अवस्था र आवश्यकताका बारेमा विश्वका प्रभावशाली ती नेताहरूलाई जानकारी दिनेछन् ।
जी ७ का नेताहरू युक्रेनलाई सहयोग गर्ने र रुसलाई आक्रमण अन्त्यका लागि दवाव दिने पक्षमा रहँदै आएका छन् । जी ७ अन्तर्गत क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका पर्दछन् । ती सबै देशले पहिलेदेखि नै युक्रेनको पक्षमा आफ्नो मत जाहेर गरिरहेका थिए भने आ आफ्नो तर्फबाट युक्रेनलाई यसअघि पनि सहयोग गर्दै आएका थिए ।
गत फेब्रुअरीको अन्त्य तिर रुसले युक्रेनमाथि आक्रमण सुरु गरेकोमा अहिलेसम्म सयौँको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् । ठूलो भौतिक क्षति पनि भएको छ । एजेन्सी न्युज बाट


