भारतीय प्रधानमन्त्रीको मोदीको लुम्बिनी भ्रमणमा दुई सम्झौता हुने, आईआईटी र बौद्ध युनिभर्सिटी खुल्ने
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणमा नेपाल र भारतबीच दुईटा सम्झौता हुने भएको छ ।
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते बुद्ध जयन्तीका अवसरमा आउँदैछन्। मोदी प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा आउन लागेका हुन् ।
भ्रमणका क्रममा नेपाल र भारतबीच प्रविधि हस्तान्तरण तथा बौद्ध विश्वविद्यालयसम्बन्धी दुइटा सम्झौता हुनेछ । परराष्ट्र मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार इण्डियन इन्सिच्युट अफ टेक्नोलोजी (आईआईटी) नेपालमा खोल्नेसम्बन्धी सम्झौता हुँदैछ ।
त्यसैगरी दोस्रो सम्झौता लुम्बिनी बौद्ध विश्वविद्यालय खोल्नेसम्बन्धी हुँदैछ। जहाँ बौद्ध धर्मसम्बन्धी अध्ययन अध्यापन गराइनेछ ।
लुम्बिनीमा प्रधानमन्त्री देउवा र मोदीबीच हुने द्विपक्षीय भेटवार्ताका क्रममा यी सम्झौता हुने बताइएको छ ।
यी सम्झौताले नेपाललाई प्रविधि र शिक्षा तथा धर्मको क्षेत्रमा ठूलो टेवा पुग्नेछ ।


