सर्लाही । सर्लाही क्षेत्र नम्बर ४ का संघीय सांसद अमरेश कुमार सिंह समूहको अन्तर्घातले जिल्लामा नेपाली कांग्रेसले चार पालिका गुमाएको छ ।
जिल्लामा चरम गुटबन्दी गरेर कांग्रेसलाई कमजोर बनाएका अमरेश सिंहले १४औं अधिवेशनमा पार्टीबाट पछारिएपछि त्यसको बदला लिन स्थानीय तह निर्वाचनमा पार्टीलाई हराउन सक्रिय भएका हुन् । उनको सक्रियतामा पार्टीले चार पालिका गुमाएको छ ।
यद्यपि अमरेशको अन्तर्घातका बीच जिल्ला सभापति सुरेन्द्र सिंहले १२ पालिकामा कांग्रेसको जित सुनिश्चित गरेर पहिलो पार्टीका रुपमा उभ्याएका छन् । जिल्ला नै कांग्रेसमय बनाएका छन् । अमरेशका कारण कांग्रेसले अनपेक्षित रुपमा गुमाउनुपरेका पालिकामा उनकै गृहपालिका पनि हो । उनले आफ्नै पालिकामा कांग्रेसलाई हराउन भूमिका खेले ।
आफ्नै गृह पालिका बलरा नगरपालिकामा पार्टीको अधिकारिक उम्मेदवार कौशल सिंहलाई हराउन अमरेशले जनता समाजवादी पार्टीका उम्मेदवार नागेन्द्र झालाई सहयोग गर्न आफ्नो समूह परिचालन गरेका थिए ।
त्यसैगरी रामनगर गाउँपालिकामा माओवादीका उम्मेदवार शिबपुजन यादवका छोरा राजा यादवलाई जिताउन र पार्टीको अधिकारिक उम्मेदवार हरेन्द्र यादवलाई हराउन कांग्रेसबाट पूर्वगाउँपालिका अध्यक्ष स्व. कृष्णा वर्माका छोरा राहुल वर्मालाई बागी उम्मेदवार बनाउन लगाएका थिए ।
स्थानीय कार्यकर्ताकाअनुसार गोडैता नगरपालिकामा पार्टीको अधिकारिक उम्मेदवार उपेन्द्र कुशवाहालाई हराउन र लोसपाका देबेन्द्र यादवलाई जिताउन अमरेशले पार्टीका कार्यकर्तालाई लाखौ पैसा दिएर कुशवाहालाई हराउन सक्रिय बनाएका थिए ।
त्यसैगरी बरहथवा नगरपालिकामा उनी नजिक नेता कार्यकर्ताले पार्टीका अधिकारिक उम्मेदवार बिगु चौधरीलगायत अन्य पालिकामा पनि अमरेशकै निर्देशनमा हराउन लागे । फलस्वरुप क्षेत्र नम्बर ३ मा कांग्रेसले एक सिट पनि जित्ने अवस्था नरहेको नेता कार्यकर्ता बताउँछन् ।
यस क्षेत्रका एक कार्यकर्ता भन्छन्, ‘आफूलाई महाधिवेशन प्रतिनिधि नबनाएको र पार्टीको नेतृत्व पनि गुमाएको आवेशमा अमरेश दाई पार्टी नै सिध्याउने गरी लाग्नुभएको छ । यो हामी सम्पूर्ण कांग्रेसीहरुका लागि चिन्ताजनक विषय हो । केन्द्रबाट नेताहरुले समयमै उहाँलाई नियन्त्रण गर्नु आवश्यक छ’ ।
त्यस्तै, अमरेशले आफ्नै निर्वाचन क्षेत्रको विभिन्न पालिकामा १३ वटा बागी उम्मेदवार लड्न लगाएपछि त्यहाँ पनि कांग्रेस कमजोर भएको छ । आरामले जित्ने ठाउँमा पनि अमरेशको अन्तर्घातले हार्ने अवस्था सिर्जना भएको छ ।
तर, जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहको गृहपालिका धनकौलमा अमरेशको तिकडमबाजीले काम गरेन् । अमरेशको षडयन्त्रको प्रयास विफल पार्दै त्यहाँ कांग्रेसका उम्मेदवार राम आश्रय साह भारी मतले विजयी भएका छन् ।
त्यसो सभापति सिंहको नेतृत्वमा कांग्रेसले ९ पालिका जितिसकेको छ भने ३ पालिकामा अग्रता लिइरहेको छ ।
१२ पालिकामा जित सुनिश्चित गरेर सभापति सिंहले पार्टीलाई पहिलो बनाएका छन् । यदि अमरेशको सहयोग हुन्थ्यो भने जिल्लामा कांग्रेसले थप पालिकामा चारतारे झण्डा गाड्थ्यो ।