उपेन्द्र यादवको गृहजिल्लामै जसपा पत्तासाप, निर्वाचन क्षेत्र नै कांग्रेस र लोसपाले कब्जा गरे
काठमाडौं । स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवकै गृहजिल्लामा पछारिएको छ ।
यादवको निर्वाचन क्षेत्र र वडासमेत अन्य दलले कब्जा गरेका छन् । उपेन्द्रको निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र लोसपाले पकड जमाउँदा गृह वडा सीके राउतको जनमत पार्टीले कब्जा गरेको छ ।
उपेन्द्रले मतदान गरेको सप्तरीको राजविराज नगरपालिका वडा नम्बर २ मा वडाध्यक्षसहित जनमत पार्टीले प्यानल नै जिते निकालेको छ ।
उपेन्द्रको निर्वाचन क्षेत्रअन्तर्गत महदेवा गाउँपालिकामा लोसपाले जित हात पारेको छ । महदेवामा जसपाका उम्मेद्वार तेस्रो स्थान ल्याएर पराजित बनेका छन् ।
त्यस्तै निर्वाचन क्षेत्रमै पर्ने तिलाठी कोइलाड़ी गाउँपालिकामा कांग्रेस विजयी भएको छ भने जसपाका उम्मेदवार तेस्रो हुँदै नराम्ररी हारेका छन् ।
उपेन्द्रको संसदीय क्षेत्र रहेको छिन्नमस्ता गाउँपालिकामा पनि लोसपाले जसपालाई हराउँदै कब्जा गरेको छ । उपेन्द्रको चुनावी क्षेत्रभित्रै पर्ने राजविराज नगरपालिकामा मात्रै जसपाका उम्मेदवार भीमराज यादवले जित्न सफल भएका छन् । त्यसबाहेक यो क्षेत्रमा जसपा निकै कमजोर बनेको छ ।
आफ्नै क्षेत्र कांग्रेस र लोसपाले कब्जा गरेपछि उपेन्द्रले आगामी संसदीय निर्वाचनमा सुरक्षित ठाउँको खोजीमा लागेका छन् । जसपाका नेताहरुका अनुसार विरग्टनगरमा छोरा अमरेन्द्रको पराजय तथा गृहपालिकामा स्थानीय चुनाव हारेपछि उपेन्द्र त्यहाँबाट सुरक्षित खोजीको स्थानको खोजीमा लागेको बताइन्छ । उनी तुलनात्मक बलियो मानेको र मेयर पनि जितेको पर्साबाट चुनाव उठने मनस्थितीमा छन् ।


