नेपालगन्जको कार्यपालिका निर्वाचनमा कांग्रेस, माओवादी र राप्रपाबीच गठबन्धन
नेपालगन्ज । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम पश्चात् गठन गरिने नेपालगन्ज नगर कार्यपालिकामा नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संग गठबन्धन गरेको छ ।
कांग्रेस पार्टी कार्यालय नेपालगन्जमा आज बसेको बैठकमा कार्यपालिका सदस्यहरु बाँडफाँड गर्ने सहमति भएको हो । सहमति अनुसार कांग्रेसले निर्वाचित महिला सदस्य मध्येबाट ३ जना र दलित/अल्पसंख्यकबाट १ जना, माओवादीले निर्वाचित महिला सदस्य र दलित/अल्पसंख्यकबाट १/१ जना तथा राप्रपाले पनि निर्वाचित महिला सदस्य र दलित/अल्पसंख्यकबाट १/१ जना पाउने सहमति भएको छ । नेपालगन्जमा निर्वाचित महिलाबाट ५ जना र दलित/अल्पसंख्यकबाट ३ जना गरी कुल ८ जना चुन्न निर्वाचन हुँदैछ ।

कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, राप्रपाका केन्द्रीय सहायक महामन्त्री ऋषि देवकोटा, नेकपा माओवादी केन्द्र बाँकेका सचिव डिल्ली प्रसाद बराल, लुम्बिनी प्रदेश कमिटी सदस्य नवीन शर्मा, राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेल, कांग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारी, सचिव सुधांशु कोइराला, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, जिल्ला सदस्य उमा थापा मगर, नेपालगन्ज नगर सभापति एवम् मेयर प्रशान्त विष्ट, राप्रपाका नेपालगन्ज अध्यक्ष मनोज कुमार श्रेष्ठ सहभागी थिए ।
अब कांग्रेस, माओवादी र राप्रपाले सहमति अनुसार मनोनयन दर्ता गर्नेछन् । नेपालगन्जमा कार्यपालिका सदस्य निर्वाचनका लागि भोली मनोनयन दर्ता हुँदैछ । १६ गते निर्वाचन हुनेछ । नगरबाट निर्वाचित ११७ जना मतदाता हुन्छन् । यी मध्ये कांग्रेसका ४२, राप्रपाका १४ र माओवादीका ११ जना गरी कुल ६७ जना छन् । जुन कुल सदस्यको बहुमत हो ।


