१४ मंसिर २०८३, आईतवार

दाङमा कांग्रेसले २०७९ को निर्वाचनमा भने राम्रो सफलता

एसीपी संवाददाता

११ जेष्ठ २०७९, बुधबार २३:५८ मा प्रकाशित

दाङ । दाङ नेपाली कांग्रेसको राम्रो संगठन भएको जिल्ला मानिन्छ । प्रजातन्त्र पुनर्बहालीपछि भएका अधिकांश चुनावमा कांग्रेसले राम्रो सफलता हासिल गरेको छ । २०६४ को पहिलो संविधानसभा चुनाव र २०७४ को संसदीय एवम् प्रदेशसभा सदस्य निर्वाचनमा विर्सनलायक नतिजा बाहेक अन्य निर्वाचनमा उत्साहप्रद नै छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा सन्तोषजनक सफलता हासिल गरेको कांग्रेसले २०७९ को निर्वाचनमा भने राम्रो सफलता हासिल गरेको छ । २०७४ मा तीन पालिका मात्र जितेको कांग्रेसले यसपटक त्यसमा राम्रो सुधार गरेर पाँच पालिकाका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष जिताउन सफल भयो । यस्तै दुई वटा पालिकामा उपाध्यक्ष जिताउन सफल भएको छ । कांग्रेसले यसपटक जिल्लाका स्थानीय तहमा आयतन बढाएको छ ।

पश्चिम दाङ त कांग्रेसले यसपटक ‘क्लिन स्विप’ नै गरेको छ । यसअघि एमालेले अध्यक्ष र उपाध्यक्ष जितेको बबई गाउँपालिका यसपटक कांग्रेले खोस्यो । २०७४ मा दंगीशरणको अध्यक्ष गुमाएको कांग्रेसले यसपटक उपाध्यक्ष जोगाउँदै अध्यक्ष पनि जितेको छ । शान्तिनगरमा पुरानो विरासत जोगाउँदै जितलाई निरन्तरता दिएको छ । दाङको पश्चिमी क्षेत्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा पर्दछ । जुन कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले निर्वाचन लड्दै आएको क्षेत्र हो । उनले पार्टीलाई जिताउन गरेको मेहनत यहाँ देखिएको छ । जिल्लाको ठूलो भू-भाग समेटिएको पश्चिम दाङमा कांग्रेसले हासिल गरेको सफलताले नेता कार्यकर्ताहरुमा उत्साह थपिएको छ ।

२०७४ को प्रतिकूलतालाई पन्छाउँदै गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेसले पाएको सफलता गर्व गर्न लायक रहेको नेताहरु बताउँछन् । देउखुरीमा पनि कांग्रेसले सफलता हात पारेको छ । मुख्य बजार क्षेत्र लमही नगरपालिका कांग्रेसको पोल्टामा परेको छ । जबकि २०७४ मा उपमेयर जित्दा कांग्रेसले मेयर गुमाएको थियो । यसपटक भने मेयर उपमेयर दुबै जितेको छ ।

राजपुर गाउँपालिका पनि कांग्रेसले जोगाएको छ । गढवा गाउँपालिकामा उपाध्यक्ष जितेको छ । बंगलाचुलीमा पनि गठबन्धनबाट उपाध्यक्ष जितेको छ । गज्जबको संयोग के छ भने जहाँ जहाँ कांग्रेस एक्लै लडेको छ, त्यहाँ सहज जित निकालेको अवस्था छ । तर, गठबन्धन भएका ठाउँहरुमा प्राविधिक कारणले हार व्यहारेको देखिन्छ । मतदातालाई राम्ररी बुझाउन नसक्दा घोराही र तुलसीपुर उपमहानगरापालिकामा अत्याधिक मत बदर भएर गठबन्धनका उम्मेदवारहरु पराजित भएको देखिन्छ ।

घोराहीमा कांग्रेसका उपमेयरले ४९ मतले चुनाव हारे । तर, उपमेयरमा मात्रै १० हजार मत बदर भएको छ । मेयरमा पनि त्यस्तै अवस्था छ । तुलसीपुरमा पनि त्यस्तै अवस्था हुँदा जितेको चुनाव हार्नुपर्ने अवस्था आएको केन्द्रीय सदस्य गिरीको भनाई छ । “हामी मतदाता शिक्षालाई प्रभावकारी बनाउने कुरामा चुक्यौं, मतदाताहरु असाध्यै झुक्किनुभएको देखियो, बदर मतलाई रोक्न सकेको भए हामीले चुनाव जितेका छौं, तर, प्राविधिक कारणले सफल हुन सकेनौं,” गिरीले भने ।

२०७४ को निर्वाचनमा घोराही र तुलसीपुर दुबै उपमहानगरपालिका एमालेले नै जितेको थियो । यसपटक यी पालिका फिर्ता गर्ने जोडमा लागेको कांग्रेस गठबन्धन हुँदा पनि बदर मत अत्याधिक भएपछि सफल हुन सकेन । देउखुरीको राप्ती गाउँपालिका पनि कांग्रेसले गुमाएको छ । पाँच पालिकाका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष दुबै तथा दुई पालिकामा उपाध्यक्ष जितेको कांग्रेसले जिल्ला समन्वय समितिमा भने स्पष्ट बहुमत पाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x