नरैनापुरमा कांग्रेसबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान
नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा कांग्रेसबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ । नेपाली कांग्रेसले नरैनापुर गाउँपालिका वडा नम्बर १, ४, ५, ६ का वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् वडा नम्बर १ का नवनिर्वाचित वडा अध्यक्ष इशाक जोलाहले गाउँ कार्यपालिकामा कांग्रेसको बहुमत हुने भएकाले कार्यपालिका गठन हुने वित्तिकै मालपोत शुल्क र धान, बीउ तथा मल ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रमको सञ्चालन प्रदेश प्रतिनिधि गुरुमुरत यादवले गरेका थिए ।

कांग्रेसबाट वडा नम्बर १ मा जोलाह, ४ मा मनोज शर्मा, ५ मा कृष्णचन्द्र मौर्य र वडा नम्बर ६ मा प्रेमचन्द्र मार्य वडा अध्यक्ष निर्वाचित भएका छन् । नवनिर्वाचत अध्यक्षहरुले जनभावना अनुसार काम गर्ने बताएका थिए । नरैनापुरको अध्यक्ष र उपाध्यक्ष तथा वडा नम्बर २ र ३ जसपाले जितेको छ ।


