आकाशबाटै फर्काइएको बुद्ध एयरको विमान सकुशल काठमाडौं विमानस्थलमा अवतरण
काठमाडौं । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान बीचबाटै फर्काएर काठमाडौं विमानस्थलमा सकुशल अवतरण गराइएको छ । विमानको टायरमा खराबी भएको पाइएपछि फर्काइएको बताइएको छ ।
उडान नम्बर ९५३ भएको विमानको पछिल्लो टायरको केही भाग धावनमार्गमा छुटेको अवस्थामा भेटिएपछि जहाज काठमाडौं फिर्ता गरिएको विमानस्थल कार्यलयले जनाएको छ । काठमाडौंबाट ३० नटिकल माइल पुगेको विमान काठमाडौं फिर्ता गर्न विमानस्थल केही समय बन्द गरिएको थियो ।
अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो । तर, कुनै समस्या नआएको विमानस्थल कर्मचारीले बताएका छन् ।
यसअघि २०७८ साउनमा उडिरहेका बुद्ध एयरका दुई जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । विमानको हाइड्रोलिकमा समस्या आएपछि काठमाडौंमै आकस्मिक अवतरण गराइएको थियो ।


