राप्तीसोनारी गाउँपालिकाका अधिकांश स्थानमा नदीजन्य सामाग्रीको अबैध उत्खनन्
नेपालगन्ज । राप्तीसोनारीका अधिकांश स्थानमा नदीजन्य सामाग्रीको अबैध घाटगद्दी रहेको पाइएको छ । नदीजन्य सामाग्री उत्खनन् गरेर मनलाग्दी रुपले घाटगद्दी गरेको अनुगमनका क्रममा फेला पारिएको हो । गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनिषासिंह थारुसहित वडाअध्यक्ष र कार्यपालिका सदस्य तथा कर्मचारी लगायतको संयुक्त टोलीले अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो ।
उक्त टोलीले बिहीबार राप्ती सोनारीको वडा नम्बर ४, ५ र ६ तथा शुक्रबार वडा नम्बर २, ८ र ९ का विभिन्न घागद्दी तथा क्रसर उद्योगको स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांश स्थानमा नदीजन्य सामाग्री अबैध रुपले उत्खनन र घाटगद्दी गरेको पाइएको हो ।
गाउँपालिका अध्यक्ष पौडेलले प्राविधिकले नापजाँच गर्दा अनुमति भन्दा बढी नदीजन्य सामाग्री फेला पारिएको र अधिकांश स्थानमा अबैध उत्खनन र घाटगद्दी गरेको पाइएको बताए। ‘राजश्व तिरेको रकम थोरै, तर सामाग्री धेरै राखेको देखियो,’ उनले भने । नदीजन्य सामाग्री कारोबारीले नियम विपरित बीच जंगलमा समेत घाटगद्दी गरेको पाइएको छ । ‘हामी कानुनी आधारको पनि अध्ययन गर्छौ, कसरी अनुमति मिलेको रहेछ, कसरी घाटगद्दी गरेको रहेछ, जिल्ला वन कार्यालयसँग पनि समन्वय गर्छौ, बीच जंगलमा घाटगद्दी गरिनु शंकास्पद छ,’ उनले थपे ।
राप्ती सोनारी २ का वडाअध्यक्ष एवम् कार्यपालिका सदस्य ज्ञानेन्द्रराज ओलीले दुई दिनदेखि अनुगमनमा सबै जनासंगै हिँड्दा र प्राविधिकले नापजाँच गर्दा नदीजन्य सामाग्रीबारे धेरै तथ्य फेला पारिएको बताए । ‘पहिलाको घाटगद्दी कति थियो, अहिलेको निकाल्दाखेरी फरक आइरहेको छ, हामीले कार्यपालिका बैठक बसेर यस विषयमा केही न केही रुपले नदीजन्य विषयलाई ब्यवस्थापन गर्छौं,’ उनले भने । गाउँपालिकाको सिंगो कार्यपालिका टोली दुई दिनदेखि त्यतिकै नहिडेकाले परिवर्तन ल्याउने वडाअध्यक्ष ओलीले जिकिर गरे ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले संयुक्त रुपमा अनुगमन गर्न हिँड्दा आफुहरुलाई असाध्यै सन्तुष्टि महसुस भएको बताए । ‘जुन लक्ष्यका साथ आगामी वर्षको योजना बनाउने तयारीमा हामी छौं, त्यसका लागि आन्तरिक आम्दानी कति छ र खर्च कति छ भन्ने आय/ब्ययको अनुमान गर्नुपर्ने हुन्छ,’ उनले भने ‘हामीले करिव ७० वटा घाटगद्दी नापजाँच गरेका छौं, एउटै घाटगघीबाट हामीलाई डेढदेखि दुई करोड राजश्व आउने अनुमान प्रक्षेपण गरेका छौं, सानो घाटगद्दीबाट पनि ४/५ लाख आउने अनुमान गरेका छौं ।’


