इम्बोस्ड नम्बर प्लेटमा उपेन्द्र र रेणुकै मिलेमतो, जनता धम्क्याएर चुनाव खर्च उठाउने दाउ
काठमाडौं । इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । भौतिक पूर्वाधारमन्त्री रेणु यादवकै जोडबलमा जनतालाई धम्क्याउने र एकैपटक जनतालाई दुख दिएर अर्बौ रुपैयाँ असुल्ने प्रपञ्च रचिएको पाइएको हो ।
यातायात व्यवस्था विभागका उच्च अधिकारीहरुका अनुसार संघीय निर्वाचनको मिति घोषणाको तयारीले चुनाव खर्च जुटाउन मन्त्रीहरु सक्रिय रहेका बेला भौतिक पूर्वाधार मन्त्री यादव पनि इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य बनाउन लागेकी हुन् । तर यो उनक लागि प्रत्युत्पादक बनेको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवको सल्लाहमै एकाएक रेणुले यातायात व्यवस्था विभागलाई लगाएर इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न उर्दी नै जारी गर्न लगाइन् । नेपाली भाषाको देवनागरी लिपी नै मेटेर नम्बर प्लेट राख्ने यो खेलमा अर्बौंको कमिशनको स्वार्थ पनि रहेको छ ।
स्रोतका अनुसार इम्बोस्ड नम्बर प्लेटको खेल सफल बनाउन बालुवाटारलाई एउटा समूहले नै प्रभावित बनाएको छ । त्यसैले विवादास्पद कदममा सरकारमा रहेकाहरु खुलेरै लागे । एमालेनिकट युवा संघले प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवाको नामै तोकेर कमिशनको खेलमा लागेको आरोप लगाएको छ । तर, यो खेलमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि लागेको बुझिएको छ । उपेन्द्र र रेणुको योजनामा अघि बढेको यो प्रकरणमा आरजुलाई जोडेर बदनाम गर्न खोजिएको बालुवाटारको आक्रोश छ । उपेन्द्रले रेणु यादवलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य गराउन भौतिक पूर्वाधार मन्त्रालयमार्फत् यातायात व्यवस्था विभागमाथि दबाब सृजना गर्न लगाएको विभागका अधिकारी बताउँछन् । इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लगाएर चुनाव खर्च जोहो गर्ने खेलहरु भएको बुझिएको छ । रेणुले मन्त्रीका रुपमा कायमै रहने आशामा पनि विवादास्पद कदम चाल्न यातायात व्यवस्था विभागलाई लगाएको खुलेको छ ।
जसपाभित्र मन्त्री परिवर्तनको दबाब बढिरहेको छ । तर, इम्बोस्ड नम्बर प्लेटमा उर्दी जारी गरेर बालुवाटार र उपेन्द्र यादव दुवैलाई खुशी पार्ने रेणुको रणनीति देखिन्छ । तर, यो कदम उनका लागि प्रत्युत्पादक सावित हुन थालेको छ ।
इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि नराखी रोपन लिपि राख्नुमा संविधानको धाराकै उल्लंघन गरी सर्वोच्च अदालतले समेत गरेको फैसलाबारे छताछुल्ल भएको छ ।
यसैगरी, इम्बोस्ड नम्बर प्लेटमा पार्टीले सम्हालेको भौतिक मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग नै जोडिएपछि जनता समाजवादी पार्टीभित्र ठूलै विवाद चल्न थालेको छ । चुनावमा यसको ठूलो असर पर्ने भन्दै सांसदहरु उपेन्द्र यादव र रेणु यादवविरुद्ध खनिन थालेका छन् ।


