एसपीपीमा सहभागी हुन ‘नेपाली सेनाले पठाएको’ पत्र सार्वजनिक
काठमाडौँ– नेपाली सेनाले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा संलग्न हुन प्रस्ताव पठाएको पत्र सार्वजनिक भएको छ । सन् २०१५ को अक्टोबर २७ मा तत्कालिन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले काठमाडौस्थित अमेरिकी राजदुतावासलाई पठाएको पत्र सार्वजनिक भएको हो ।
प्रधान सेनापति क्षेत्रीको हस्ताक्षर रहेको पत्रमा नेपाल सरकारबाट आधिकारिक रुपमा एसपीपीमा सहभागी हुन अनुरोध गरिएको छ । यसअघि हिजो (बुधबार) नेपाली सेनाले विज्ञप्ति जारी एसपीपीमा सहभागी हुने प्रकृया सुरु नै नभएको जिकिर गरेको थियो ।
पत्रमा नेपाली सेनाको लोगो भने छैन । त्यसको साटो नेपाल सरकारको निशाना छाप छ । त्यस्तै मिती लेख्ने ठाउँमा पनि कलमले थपिएको छ । पत्रमा अक्टोबर २०१५ मात्र लेखिएकोमा हरियो मसीले त्यसको अघि २७ थपिएको छ । त्यो मसि प्रधान सेनापतिको हस्ताक्षरकाे रंगसँग भने मिल्न जान्छ ।
सार्वजनिक भएको पत्रबारे नेपाली सेनाले केही बताएको छैन ।


