१४ मंसिर २०८३, आईतवार

भुटानी शरणार्थी नेता डा. भम्पा राईको निधन

एसीपी संवाददाता

५ असार २०७९, आईतवार ०२:५१ मा प्रकाशित

झापा– भुटानी शरणार्थी नेता डा.भम्पा राईको ७५ वर्षको उमेरमा निधन भएको छ । राईको आइतबार बिहान २ बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

पाँच दिन अघि हर्नियाको शल्यक्रिया गरेका राईको शनिबार दिउँसो ३ बजेतिर मुटुको चाल कम भएको थियो । तत्काल दमकस्थित लाइफालाइन अस्पताल भर्ना गरिए पनि चिकित्सकहरुले त्यहाँबाट विराटनगर रिफर गरेका थिए । उपचारकै क्रममा उनको बिहान निधन भएको राईकी भाञ्जी गौरी राईले पुष्टि गरिन् ।

राईको स्वास्थ्यमा समस्या देखिएपछि दमकबासी चिकित्सक डा. बेदनिधी खतिवडाले शनिबार अपराह्न विराटनगर अस्पताल पुर्‍याएका थिए । ३० वर्षदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका राई दमकमा एक्लै बस्दै आएका थिए ।

दुई वर्षअघि पत्नि उर्मिलाको निधन भएपछि उनी दमकस्थित डेरामा एक्लै बस्दै आएका थिए । राई पेट सम्बन्धी गम्भीर रोगबाट पीडित थिए । तीन वर्षअघि आन्द्रा फुटेर रगत बग्दा महिनौं दिनसम्म थलिएका उनको तीन वटा शल्याक्रिया गरिएको थियो । पेटको शल्यक्रियापछि निकै गलेका राई पछिल्लो एक वर्ष हर्नियाबाटसमेत पीडित थिए । निकै दु:ख दिन थालेपछि पाँच दिनअघि गत मंगलबार दमकस्थित लाइफलाइन अस्पतालमा उनले हर्नियाको समेत शल्यक्रिया गराएका थिए ।

राईको पार्थिव शरीरको आइतबार नै किरात संस्कारअनुसार दमक नजिकैको पाडाजुँगीस्थित रतुवामाई वृक्षारोपणको जंगलमा अत्येष्टि गरिने जनाइएको छ ।

२९ वर्षदेखि दमक ८ स्थित खगेन्द्र गुरागाईंको घरमा डेरा बस्दै आएका राईलाई दमक नगरपालिकाले नि:शुल्क आवासको व्यवस्था गरिदिएको थियो । दमक ५ स्थित खेम भण्डारीको घरको भुइँ तलामा तीन वटा कोठा र किचनसहितको फ्ल्याटको व्यवस्था गरिएको थियो । उक्त फ्ल्याटमा राई गत जेठ १३ देखि बस्न थालेका थिए ।

भुटानी राजाका निजी डाक्टर रहेका राई सन् १९९१ मा भुटानबाट नेपाली भाषीलाई लखेट्दा उनी आफ्नै इच्छाले नेपाल आएका थिए । ३० वर्षअघि शरणार्थी हैसियतमा झापा आउँदा राईले श्रीमतीसँगै बुबाआमालाई पनि साथै ल्याएका थिए । आमा विष्णुमायाको ०५४ र बुबा आइतराजको ०६४ सालमा निधन भएको थियो । नि:सन्तान राईका लागि कुनै बेला एक लाखभन्दा बढी भुटानी शरणार्थीको गास, बास र आवासको व्यवस्थापनका लागि नेपाल सरकार तथा दातृ निकायको सहयोगका लागि पहल गरेका थिए ।

सन् ९० को दशकमा दक्षिणी भुटानबाट नेपालीभाषी ल्होत्साम्पा लखेटिन थालेपछि तिनै नेपालीभाषीका पछि लागेर स्वेच्छिक रुपमा निर्वासनमा आएका चिकित्सक राई दक्षिणी भुटानको साम्चीमा जन्मे–हुर्केका थिए । सन् १९९१ मध्यदेखि उनी झापाको दमकबासी बनेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x