२१ बैशाख २०८३, सोमबार

प्रहरीको तनाव व्यवस्थापनमा योग महत्वपूर्ण छ : गृहमन्त्री खाण

एसीपी संवाददाता

१० असार २०७९, शुक्रबार ०८:२८ मा प्रकाशित

काठमाडौं । आठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित शिविर तथा उत्प्रेरणा कार्यक्रम (योगा) सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले ‘मानवताको लागि योग’ भन्ने नारालाई आत्मसात् गरी कुनै पनि द्वेषभाव र मन मुटाव नराखी एक आपसमा सदभाव, सौहार्दता, मेलमिलाप र हार्दिकताको सम्बन्ध कायम गरी पवित्र मनोभावका साथ समाज र राष्ट्रको हित र विकासमा आफूलाई समर्पित गर्नुपर्ने बताए।

साथै उहाँले योग र प्राणायामको नियमित अभ्यासले मानव शरीर र मस्तिष्कलाई सन्तुलित र स्वस्थ राखी सकारात्मक सोच विकास गर्ने चर्चा गरे। गृहमन्त्री खाणले विविध कारणले मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गरी मानिसको भौतिक शरीर, मानसिक अनुभूति र शारीरिक अवस्थालाई सन्तुलनमा राखी तनाव कम गर्न, जीवनलाई शान्त, फलदायी र उत्पादनमूलक बनाउन योग प्रभावकारी सिद्ध भएको उल्लेख गरे।

समाजमा हुने विभिन्न प्रकारका घटना, दुर्घटना र अपराधहरूको प्रभावकारी रोकथाम तथा नियन्त्रण गरी समाज र नागरिकलाई सुरक्षित राख्ने जटिल प्रकृतिको जिम्मेवारी बहन गर्ने सन्दर्भमा प्रहरी कर्मचारीहरूको तनाव व्यवस्थापनमा योग अभ्यासको अधिक महत्व रहने विचार व्यक्त गरे।

योग अभ्यासलाई प्रशिक्षणमा सीमित नराखी आफ्नो व्यक्तिगत एवं व्यावसायिक जीवनमा समेत नियमित अभ्यास गर्न आग्रह गर्दै उनले भने, ‘योग एवम् आसन, प्रणायम मात्र होइन एक अनुशासित जीवन शैली पनि हो।’ कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नियमित योग अभ्यासले शरीर र मस्तिष्कलाई चुस्त, स्फूर्त राखी मानिसक तथा शारीरिक विकारहरूबाट मुक्ति दिलाउन मद्धत गर्ने बताए।

योग गर्ने व्यक्तिमा सकारात्मक सोचको विकास हुने उल्लेख गर्दै उनले भने, ‘सकारात्मक सोँचले रिस द्वेष, बद्लाको भावनालाई समेत कम गर्छ। जसले समाजमा शान्ति र समृद्धि ल्याउन मद्दत गर्छ।’ ‘मानवताको लागि योग’ भन्ने नाराका साथ जुन २१ मा विश्वभर आठौं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा योगको बारेमा चेतना अभिवृद्धि गर्न कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रहरी पेशामा योगको महत्वलाई मध्यनजर गरी नेपाल प्रहरीका विभिन्न तालिम पाठ्यक्रममा योगलाई समेत समावेश गरिएको बताए।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले गृहमन्त्री बालकृष्ण खाणलाई कृतज्ञताको चिनो प्रदान गरेका थिए। साथै उनले पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र र समितिका युवा संयोजक लोक नाथ खनाललाई समेत कृतज्ञताको चिनो प्रदान गरे।

योग शिविरमा गृह सचिव टेकनारायण पाण्डे, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष, गृहमन्त्रालयका सहसचिव, पतंजली योग समिति नेपालका पदाधिकारी एवम् योग गुरूहरू, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरू सहभागिता थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x