ओलीलाई आरजुको कटाक्ष : कांग्रेस उखान टुक्का सुनाएर बस्दैन, वास्तविक विकास गर्छ
काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले उखान टुक्का सुनाएर जनता हँसाउने पार्टी कांग्रेस नभएको बताएकी छन् ।
कांग्रेस जिल्ला कार्य समिति म्याग्दीको कार्यकर्ता भेटघाट तथा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा आरजुले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै कांग्रेसले देशको यथार्थ वस्तुस्थिति हेरेर विकासको योजना जनतालाई सुनाउने, सुझाव लिने र सोही अनुसार विकास निर्माणको कार्ययोजना अगाडि बढाउने स्पष्ट पारिन् ।
काँग्रेसले वडा, पालिका, प्रदेश हुँदै केन्द्रसम्म नै जनताको गुनासा, समस्या सुन्न र समाधान गर्न समस्या समाधान विभाग बनाउनुपर्ने देउवाले बताइन् । उनले पार्टीको आन्तरिक समस्या समाधान र जनताको गुनासो समाधानका लागि विभाग बनाउनुपर्ने बताइन् । ‘हरेक पटक देश समस्यामा हुँदा त काँग्रेसको सरकारले समस्या समाधान गरेर जनताको हित गर्दै आएको छ भने आफ्नो आन्तरिक समस्यालाई पनि समाधान गर्न आवश्यक छ,’ उनले भनिन् ।
काँग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिलाई पाँच वर्षमा हरेक समयमा जनताको साथ दिन आग्रह गर्दै हरेक क्षेत्रमा जनताका समस्या समाधान पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिइन् । उनले भनिन् -‘पार्टीका नेता तथा कार्यकर्ताले पनि निर्वाचित भएका जनप्रतिनिधिलाई सहयोग गर्न आवश्यक छ ।
टिकट नपाउँदाको तिक्तताले पार्टीभित्र नै दुर्घटना निम्तिने गरेको छ ।’ ब्युरोक्रेसीलाई सुधार्दै अगाडि बढ्नुपर्ने दायित्व जनप्रतिनिधिको भएको भन्दै ब्युरोक्रेसीले सुध्रिएको खण्डमा सरकारका काम कारबाहीले गतिशीलता पाउने उनले बताइन् ।


