१४ मंसिर २०८३, आईतवार

जसपामा फुट पछि बाबुरामको विकल्प

एसीपी संवाददाता

१८ असार २०७९, शनिबार ०८:३० मा प्रकाशित

काठमाडौँ– नेपाली राजनीतिमा ताली र गाली उत्तिकै पाउने नेतामा पर्छन् डा. बाबुराम भट्टराई । समर्थकहरू उनलाई वर्तमान राजनीतिक नेतृत्वमध्ये ‘अध्ययनशील’, ‘क्षमतावान्’ ‘भिजनरी’ आदि भन्छन् । अनि आलोचकहरूलाई ‘अस्थिरताका पर्याय’ ‘अरूका कुरै नसुन्ने र ढिपी मात्र गर्ने’ आदि भन्छन् ।

भट्टराई विभिन्न कारणले चर्चामा पनि आइरहन्छन् । आफैँले स्थापना गरेको पार्टी माओवादी अब भत्किन लागेको भन्दै खतराको सूचक ‘रेड स्टिकर’ टाँसेर नयाँ शक्ति पार्टी खोलेका उनी राजनीतिक यात्राको एउटा अर्को मझधारमा पुगेका छन् । नयाँ शक्तिको भव्य ओपनिङ गर्न सफल भए पनि क्रमशः त्यसको क्षयीकरणको साक्षी बस्न बाध्य भएका भट्टराई अन्ततः मधेस केन्द्रित राजनीतिमा रमाइरहेका उपेन्द्र यादव नेतृत्वको दलसँग एकता गर्ने निष्कर्षमा पुगेका थिए । त्यही दलमा अर्को तराई मधेस केन्द्रित दल तमलोपालाई मिसाएर राष्ट्रिय जनता पार्टी बनाउन सफल भट्टराईले त्यो एकतालाई जोगाइराख्न भने सकेनन्। हुँदा हुँदा दिन यस्तो आयो कि उनी उनै उपेन्द्र यादवसँग ‘भद्र सहमतिमै अलग्गिने’ निष्कर्षमा पुगेका छन् । यससँगै डा भट्टराईका विकल्पहरू के के छन् भन्ने बारे चर्चा गरौँ–

माओवादी मै फर्किने–

डा. बाबुराम भट्टराई अब फेरि माओवादी केन्द्र मै फर्किने कतिपयको अनुमान छ । कतिपयले चाहिँ उनी फर्किउन् भन्ने आशा र चाहना पनि व्यक्त गरिरहेका छन् । पछिल्लो समय उपराष्ट्रपति नन्दबहादुर पुन यसमा सक्रियताका साथ लागेको समाचार श्रोतहरू बताउँछन् । यसका लागि उपराष्ट्रपतिको कार्यालय लैनचौरमै बाबुराम र प्रचण्डबिच पटक पटक भेटवार्ता भएको श्रोतहरू बताउँछन् । तर भट्टराई माओवादीमा अहिले नै फर्किहाल्ने सम्भावना कमै मात्र रहेको उनी निकट श्रोतको भनाइ छ । यसका लागि बरु समाजवादी केन्द्र खोलेर जाने कि भन्नेबारेको समेत छलफल चलिरहेको नेताहरूको भनाइ छ । प्रचण्डले सकेसम्म बाबुरामलाई माओवादी मै ल्याउने नभए पनि समाजवादी केन्द्रमार्फत सहकार्य गर्न चाहेको माओवादीकै नेताहरूको भनाइ छ । यो अहिले अपरिपक्व अवस्थामा नै छ । बाबुराम माओवादी मै फर्किए माओवादीभित्र दोस्रो बरीयताको नेता को ? भन्ने विवाद अन्त्य त हुन्छ तर उनी जाँदा आफ्नो भाग खोसिने वा पार्टी छोडेर गएका उनलाई दोस्रो बरीयतामा फर्काउन नहुने आवाज पनि माओवादीभित्र सशक्त रूपमा उठ्ने पक्कापक्की छ । तर आफ्नो दललाई दोस्रो ठुलो दल बनाउन कम्मर कसेका प्रचण्डले माओवादी एकताका लागि बाबुरामको आगमन सर्वाधिक ठुलो कोशेढुंगा हुने पक्कै बुझेका छन् ।

अन्य दलमा जाने–

डा‍. बाबुराम अन्य दलमा जाने सम्भावना अत्यन्तै न्यून मात्र रहेको उनी निकट नेताहरू बताउँछन् । ‘अर्को दल पनि अब कुनमा जाने ? एमाले वा काँग्रेसमा जाने कुरा भएन’ उनी निकट एक नेताले भने, ‘तराई मधेस केन्द्रित दलमा यादव जी (उपेन्द्र यादव) नै नजिक हो उहाँसँग पनि सँगै नरहने कुरा भएपछि अर्को दलमा जाने सम्भावना छैन भने पनि हुन्छ ।’

अर्को दल गठन

अर्थ मन्त्री हुँदा आफूलाई अब्बल प्रमाणित गरेका बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा औसत रहे । माओवादीमा नेतृत्व नपाएको र पाउने सम्भावना पनि तत्कालै नदेखिएको निष्कर्ष सहित नयाँ दल खोलेका उनी नेतृत्वमा सफल छैनन् भन्ने पुष्टि पटक पटक भएको छ । उनले नयाँ शक्तिलाई बलियो गरी अघि बढाउन सकेनन् । त्यसो मात्र होइन उनैलाई विश्वास गरेर पार्टीमा एकताबद्ध भएका विभिन्न क्षेत्रका बौद्धिक तथा पार्टी भित्रै उनलाई लामो समय साथ दिएका नेताहरूलाई नै पनि ढाडस दिन सकेनन् । जसले गर्दा अहिले उनीसँग गङ्गानारायण श्रेष्ठ र डम्बर खतिवडा मात्र छन् । भलै, जसपामा गएपछि केही नेता र सांसदहरू उनको पक्षमा खुलेका छन् त्यो अर्को कुरा हो । नयाँ शक्तिको अध्यक्ष, राजपाको अध्यक्ष र जसपाको सङ्घीय परिषद्को अध्यक्षका रूपमा बाबुराम सफल अध्यक्ष होइनन् । यस्तो अवस्थामा उनले नयाँ दल गठन गर्ने र त्यसको नेतृत्व गर्ने कुराले खास आस जगाउन सक्ने देखिँदैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x