एमालेका एम अधिकारी गभर्नर महाप्रसाद नै भएको खुलासा, भेटियो प्रमाण
काठमाडौं । नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै पुष्टि भएको छ ।
२०७३ जेठ २१ मा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको नेतृत्वमा गठन भएको विभागमा महाप्रसाद अधिकारी नै नाम थियो । एमालेका तत्कालीन महासचिव ईश्वर पोखरेलले जारी गरेको वक्तव्यमा महाप्रसाद अधिकारीलाई सदस्यका रुपमा राखिएको थियो। उनको ठेगाना खोटाङ उल्लेख थियो ।
अहिले अध्यक्ष केपी शर्मा ओलीले असार २६ गते जारी गरेको अन्तरपार्टी निर्देशनमा अर्थ तथा योजना विभागको सदस्यमा एम अधिकारी भनेर नाम उल्लेख छ । ठेगाना खोटाङ नै छ । गभर्नर भएकाले महाप्रसादलाई छद्मभेषी नाममा एम भनेर लेखेको यहीबाट पुष्टि हुन्छ ।
तर एमाले नेताहरुले भने यो तथ्यलाई अस्वीकार गरेका छन् । अर्थ विभागका प्रमुखसमेत रहेका घनश्याम भुसालले पार्टीको कमिटी र विभागमा गभर्नरलगायत सार्वजनिक पद धारणा गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था पनि नभएको दाबी गरेका छन् ।
स्वयम् गभर्नर अधिकारीले ‘कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफू नभएको’ दाबी गरेका छन् । तर तथ्य र एमाले खोटाङका नेताहरुको भनाइले एम अधिकारी र महाप्रसाद अधिकारी एउटै व्यक्ति भएको देखाउँछ । एमाले खोटाङका नेताहरुले जिल्लामा एम अधिकारी नाम गरेको कुनै कार्यकर्ता नभएको बताइरहेका छन् ।
राष्ट्र बैंकको कानुनअनुसार कुनै पनि पार्टीको सदस्य रहेको व्यक्ति गभर्नर बन्न अयोग्य हुन्छ । तर गभर्नर अधिकारी एमालेको केन्द्रीय विभागमा बसेर गभर्नर पदमा बसिरहेको भन्दै राजीनामा माग उठिरहेको छ ।
अधिकारी अध्यक्ष ओली नेतृत्वको सरकारकै पालमा गभर्नरमा नियुक्त भएका थिए ।


