उपेन्द्र यादवले जसपालाई बनाए टुक्राटुक्रा , नेतृ रेणुले दिईन राजिनामा
जसपाबाट निकालिए बाबुराम, संघीय परिषद् अध्यक्षमा अशोक राई
वीरगञ्जमा जारी केन्द्रीय समिति बैठकमा रेणुले पार्टीको कुनै पनि पदीय जिम्मेवारीमा नबस्ने भन्दै उनले अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा बुझाएकी हुन्।
भौतिक पूर्वाधारमन्त्रीबाट फिर्ता बोलाइएपछि रेणु असन्तुष्ट बनेकी छन्। बुधबारदेखि केन्द्रीय समिति बैठक सुरू भए पनि उनी बिहीबारमात्रै बैठकमा पुगेकी थिइन्।
व्यक्तिगत कारणले पदीय जिम्मेवारीमा रहेर काम गर्नसक्ने अवस्था नरहेकाले आफूले सबै पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उनले भनेकी छन्।
‘वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्नसक्ने अवस्था नरहेको हुनाले यस जनता समाजवादी पार्टी (जसपा) को पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु,’ अध्यक्ष यादवलाई उनले बुझाएको राजीनमा पत्रमा भनिएको छ,‘तसर्थ आजकै मितिदेखि लागू हुने गरी पार्टीले मलाई दिएको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु।’
अध्यक्ष यादवसँगको सहकार्यबाट राजनीतिक र व्यत्तिगत जीवनमा धेरै कुरा सिक्ने र जान्ने मौका पाएको उनले उल्लेख गरेकी छन्।
संघीय सांसदसमेत रहेकी रेणु जसपाको केन्द्रीय कार्यकारणी र केन्द्रीय सदस्यको जिम्मेवारीमा थिइन्।
यस्तो छ रेणुले दिएको राजीनामा पत्र:
मितिः २०७९ असार ३०
आदरणीय अध्यक्ष ज्यू,
जनता समाजवादी पार्टी(जसपा) नेपाल
विषयः पदीय जिम्मेवारीमा नबस्ने सम्बन्धमा ।
म रेणु कुमारी यादव करिव १५ वर्षदेखि आफ्नो मेहनत, लगनशीलताका साथ अनेकौँ कठिन परिस्थतीमा विभिन्न बाधा–अवरोध, उतार–चढाव र आरोह–अवरोह पार गर्दै पार्टीका हितका लागि पूर्ण रूपमा इमान्दारीता र नैतिकताका साथ सक्रिय रुपमा जिम्मेवारीहरू पूरा गर्दै आइरहेकी यहाँलाई अवगत नै छ।
विभिन्न कालखण्डमा पार्टी पटक–पटक टुटफूट र अनेक किसिमको पडयन्त्रका सिकार भईरहँदा पनि आँफू विच्चलीत नभई सदैव मधेस र मधेसी जनता लगायत समपूर्ण उपेक्षित वर्ग र समूदायको हकहितका लागि पार्टीको पक्षमा चट्टानी अडान लिएको सर्वविदितै छ।
यहाँहरुको साथ–सहयोग, विश्वास र सदभावकै कारणले गर्दा मैले विभिन्न पदीय दायित्वमा रहि काम गर्ने सुनौलो अवसर पाए। पदमा रहिरहँदासम्म मैले आफ्नो व्यक्तिगत क्षमता, विवेक, राजनीतिक अनुभवले पार्टीको निर्देशनमा रहि इमान्दारिता, निष्ठापूर्वक पूर्ण जिम्मेवार भइ आफ्नो पदीय जिम्मेवारीलाई पुरा गर्न भरपूर प्रयास गरेको छु। मैले आफ्नो कार्यकालमा के–कस्ता कामहरु गरे त्यसको तुलनात्मक समिक्षा पार्टीले पछि आवश्य नै गर्ने छ।
यहाँहरुसँग सहकार्य गरिरहँदा मैले राजनीतिक र व्यक्तिगत जीवनमा धेरै कुरा सिक्ने, बुझ्ने, जान्ने मौका र अवसर पाए।
यद्यपी, वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी(जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु। तसर्थ आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलार्इ जानकारी गराउँदछु।
पार्टी र सरकारको विभिन्न सम्मानित पदमा रहिरहँदा यहाँले गर्नुभएको सहयोग प्रति म कृतज्ञता र अभारी रहनेछु। साथैँ मेरो यस प्रकारको निर्णयले गर्दा यस पार्टी र पार्टीका इमान्दार नेता तथा कार्यकर्तामा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छु।
धन्यवाद ।
रेणु कुमारी यादव
केन्द्रिय कार्यकारणी सदस्य एवंम्
केन्द्रिय सदस्य
जनता समाजवादी पार्टी नेपाल



