एमसीसीबारे चीन-अमेरिका भनाभनमाथि नेपालको टिप्पणी-अरुका विषयमा हामी बोल्दैनौं
काठमाडौँ — नेपालमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतालाई लिएर चीन र अमेरिका बीच पटक–पटक भइरहेको भनाभनबारे नेपालले पनि बुधबार टिप्पणी गरेको छ । परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले नेपालले आफ्नो कुरा राख्ने भन्दै अन्य मुलुकहरुले बोलेका विषयमा प्रतिक्रिया नदिने बताइन् ।
हामीले आफ्नो कुरा गर्ने हो, अरु राष्ट्रहरुले बोलेका विषयमा बोल्दैनौं,’ पत्रकारका प्रश्नको जवाफ दिँदै प्रवक्ता लम्सालले भनिन्,‘हामीले हाम्रो कुरा भन्ने हो । आफ्नो देशको कूटनीति र परराष्ट्र नीतिलाई सञ्चालन गर्ने हो । अरु राष्ट्रहरुले बोलेको विषयमा हामी बोल्दैनौं ।’
नेपालमा चीनको असन्तुष्टिका बावजुद गत वर्षको फागुन १५ मा उर्जा र पूर्वाधार विकासको लागि ५०० मिलियन अमेरिकी डलर अनुदान सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएको थियो । जसमाथि वेइजिङले एमसीसी सम्झौता अनुमोदन हुनुअघि र पछि टिप्पणी गरेको थियो ।
नेपालमा एमसीसी अनुमोदन नहोस् भन्नेमा वेइजिङको भूमिका रहेको वासिङ्टन डीसीले जनाउँदै आएको थियो । पछिल्लो पटक यहि असार २९ मा नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्प्सनले चीनको दुष्प्रचार अभियानको सामना गर्दै नेपालको संसद्बाट एमसीसी सम्झौता अनुमोदन भएको बताएका थिए ।
राजदूत र्यान्डी बेरीको स्थानमा काठमाडौंमा दूतावास नेतृत्व गर्न आउन लागेका थम्प्सनले अमेरिकी सेनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सुनुवाइका क्रममा बुधबार आफ्नो धारणा राख्दै उक्त कुरा बताएका हुन् ।
सुनुवाइमा प्रस्तावित राजदूत थम्प्सनले एमसीसीलाई चीनसाग जोड्दै भनेका थिए,‘एमसीसी सम्झौता पीआरसी (चीन) को दुष्प्रचार अभियानको सामना गर्दै फेब्रुअरीमा नेपालको संसद्ले ५० करोड डलरलाई अनुमोदन गरेको थियो ।’
थम्प्सनको अभिव्यक्तिलाई लिएर दुई दिनपछि असार ३१ मा नेपालस्थित चिनियाँ राजदूतावासले खण्डन गरेको थियो । नेपालस्थित चिनियाँ दूतावासका राजनीतिक तथा समाचार शाखाका निर्देशक प्रवक्ता वाङ सियाङ्लोङले थम्प्सनको भनाइको खण्डन गरेका हुन् ।
चिनियाँ दूतावासले उल्टो अमेरिकाले दुष्प्रचार गरेको बताएको थियो । एमसीसी सम्झौताले नेपालमा व्यापक बिबाद उत्पन्न भएको कुरा उल्लेख गर्दै प्रवक्ता वाङले नेपाली संसद्बाट ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन भएको पनि बताएका थिए । उक्त घोषणामा नेपाल अमेरिकाको रणनीतिक, सैन्य र सुरक्षा गठबन्धनमा सहभागी नहुने कुरा उल्लेख भएको जनाउँदै दूतावासले उक्त कार्यलाई नेपालको वैधानिक कदमको संज्ञा दिएको उल्लेख छ ।
दूतावासका प्रवक्ता वाङको टिप्पणी थियो, ‘राष्ट्रिय हितलाई सुरक्षित गर्दै सार्वभौमिकता तथा स्वतन्त्रताको रक्षा गर्ने नेपाल सरकार र नेपाली जनताको वैधानिक कदम हो । अमेरिकी पक्षबाट आएको टिप्पणी पूर्ण रूपमा आधारहीन छ । उनीहरूले चीनको बद्नाम गर्ने प्रयास मात्रै गरेका छैनन्, नेपाल र नेपाली जनताको अपमानसमेत गरेका छन् ।’ ईकान्तिपुर


