गृहमन्त्री खाणको शालिन कुटनीतिक : जसले ओलीको पालामा रोकिएको नागरिकता कानुन पास गरायो, देशभर दिपावली मनाइँदै
काठमाडौं । संविधान निर्माणको ७ वर्षपछि नागरिकता संशोधन विधेयक पारित भएको छ । संविधान बनेलगत्तै पारित हुनुपर्ने विधेयक केपी शर्मा ओली नेतृत्व दुई तिहाइ सरकारको पालामासमेत संसदमै रोकिएको थियो ।
गृहमन्त्री बालकृष्ण खाणको शालिक कुटनीति, अहोरात्र खटाई, राजनीतिक लबिइङले अन्तत गठबन्धन सरकारको पालामा विधेयक बहुमतले पारित भएको हो । विधेयकमा एमालेका केही सांसदले संशोधन दर्ज गरे पनि मूल नेतृत्व (केपी ओली)को सहमति थियो । गृहमन्त्री खाणले बालकोटा पुगेर पटक पटक ओलीसँग सम्वाद गरी नागरिकता विधेयकमा मनाएका थिए ।
अन्तरिम संविधान, २०६३ अन्तर्गत बनेको नागरिकता ऐन, २०६३ को विस्थापनका लागि नागरिकतासम्बन्धी नयाँ कानुन बनाउन तत्कालीन ओली सरकारले २०७५ साउन २२ गते संसद्मा विधेयक दर्ता गरेको थियो ।संसदमा गएको चार वर्षसम्म ओली सरकारले विधेयक अगाडि बढाउन सकेन । बरु संसद विघटन गरेर अध्यादेशमार्फत नागरिकता कानुन ल्यायो । तर त्यो पनि निष्क्रिय भयो भने शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्यो । देउवा सरकारले अविच्छिन्न उत्तराधिकारीका रुपमा ओलीले दर्ता गरेको विधेयकलाई अगाडि बढाउने प्रयत्न गर्यो । तर वैवाहिक अंगीकृतमा सहमति जुट्न नसकेपछि उक्त विधेयक फिर्ता लिएर असार २९ गते संसदमा नयाँ विधेयक दर्ता गरायो । विधेयकमा सहमति जुटाउन गृहमन्त्री खाणले निकै मेहनत गरेका थिए । उनले राजनीतिक दलका शीर्ष नेतृत्वलाई भेटेर मनाउने प्रयास गरेका थिए ।
नागरिकतालाई निर्णयार्थ पेस गर्नुअघि संसदमा मन्त्री खाणले वैवाहिक अंगीकृतमा सहमति नजुटेकाले अहिले त्यसलाई नसमेटिएको र भविष्यमा सहमति जुटाएर संशोधनमा जाने गरी अहिले विधेयक ल्याएको बताएका थिए । उनले विधेयक ओली सरकारले ल्याएको अध्यादेशकै स्पिरिटमा भएको पनि बताएका थिए । ‘ऐनमै ढिलाइ हुँदा नागरिकता नपाउनेको संख्या दिनदिनै बढिरहेको छ । अहिलेको विधेयक अध्यादेशकै आधारशिलामा बनाएका हौँ । नेपालीले नागरिकता पाऊन्, गैरनेपालीले नपाऊन् भन्ने चाहनाअनुसारका प्रावधान विधेयकमा छन्,’ उनले भनेका थिए ।
खाणले प्रतिपक्षी दलका नेता ओली, सत्ता गठबन्धनको कम्युनिस्ट घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाललाई मनाउन चरणबद्ध भेटघाट तथा सम्वाद गरेका थिए । परिणामस्वरुप संसदबाट नागरिकता विधेयक बहुमतले पारित भएको छ । विधेयकमा एमालेले बाहिर देखिनेगरी असहमति जनाए पनि भित्रिरुपमा मूल नेतृत्व ओलीले सहमति नै जनाएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
गृहमन्त्रीको पहलकदमीको प्रतिफल नागरिकता विधेयक कानुन बनेर आएसँगै कानुनको अभावमा नागरिकताबाट वञ्चित करिब सात लाख नागरिकलाई नागरिकता लिने बाटो खुल्ने भएको छ । खाणको पहलकदमीले गठबन्धन सरकार बनेको एक वर्षमै नागरिकता कानुन आएपछि देशभर दिपावली मनाइएको छ । नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले आजको दिन दिपावली मनाउने दिन भएको बताएका छन् ।


