१४ मंसिर २०८३, आईतवार

प्रदेश १ को नामकरणमा सांसदको ‘गुहार’- हामीलाई ज्यान जोखिममा परेको फिलिङ भइरहेको छ

एसीपी संवाददाता

१० श्रावण २०७९, मंगलवार ०६:४९ मा प्रकाशित

आइतबार प्रदेश १ को प्रदेशसभाको शून्य समयमा एमालेका सांसद सर्वध्वज सावाको बोल्ने पालो आयो । प्रायः संसद भवनमा आफ्नै शैलीले प्रस्तुत हुने सावाले आइतबार कागज बोकेर आएका थिए । हातमा बोकेको कागज हेर्दै ‘सभामुख महोदय’ भनेर सम्बोधन सुरु गरेका उनले एक्कासि सभामुखसँग गुहार मागे  । ‘गुहार–गुहार’ भनेर चिच्याउन थालेका थिए उनी ।

एक्कासि गुहार माग्न थालेका सांसद सावालाई देखेर अन्य सांसदहरू अचम्मित देखिन्थे । खासमा सावाले नामकरणको विषयमा बाहिरी ‘थ्रेट’ भएको भन्दै सभामुखसँग सुरक्षाको माग राखेका थिए । ठाउँठाउँमा नामकरणको विषयमा विभिन्न प्रस्ताव आएको र आफूहरू असुरक्षित भएकोमा सदनमा ध्यानाकर्षण गराएका थिए, सावाले ।

‘प्रदेश १ का हामी माननीयहरूलाई बलिको बोका बनाउन खोजिएको छ । ‘कहिले मुख्यमन्त्री घेराउमा पर्नुहुन्छ । कहिले हामी सभासदहरू घरमा घेराउमा पर्छौं । बाटो-बाटोमा घेराबन्दीमा पर्छौं । चोक-चोकमा घेराबन्दीमा पर्छौं,’ सावाले भने, ‘अहिले सदनमा आउँदा पनि घेराबन्दी तोड्दै आउँदै छौँ । छड्के-छड्के परेर हामी यहाँ आइपुग्यौँ ।’

सावाले भनेजस्तै प्रदेशको नामकरणको विषयमा अहिले मुख्यतः जातीय भर्सेस भौगोलिक पहिचानको द्वन्द्व चर्किरहेको छ । विभिन्न जातीय पहिचानवादी सङ्गठनहरूले प्रदेशको नाम ‘लिम्बुवान–किरात’ हुनुपर्ने माग राख्दै आएका छन् ।

यता भौगोलिक पहिचानको आधारमा नामकरण गर्नुपर्छ भन्नेहरूको पनि उस्तै लबिङ छ । त्यही विषयलाई इङ्गित गर्दै सावाले सदनमा भने, ‘प्रदेशको नाम कोही समूहले भन्नुहुन्छ- कोसी राख्नुस् । नत्र आउँदो निर्वाचनमा पहिचानवादी आदिवासी जनजाति शून्य बनाइदिन्छौँ भन्ने आउँछ धम्की । अर्को समूह भन्छ, किरात–लिम्बुवान नाम राखेनौँ भने अर्को चुनावमा कोसीमा बगाइदिन्छौँ भन्ने किसिमको घेराबन्दीमा परेका छौँ ।’

नामको विषयमा एउटाको प्रस्ताव मान्दा अर्को समूहले आक्रमण गर्ने बताउँदै सावाले प्रदेश नामकरणमा गोप्य मतदानको माग राखेका हुन् । सावाले प्रदेशसभा सञ्चालन नियमावली परिवर्तनको माग राखे ।

के छ प्रदेशसभा नियमावलीमा ?

संविधानको धारा २९५ (२) अनुसार प्रदेशको नामकरण गर्न दुईतिहाइ बहुमत आवश्यक पर्छ । त्यही प्रावधान प्रदेशप्रदेशसभा नियमावलीमा पनि छ । तर, सांसद सावाले उठाउन खोजेको मुख्य विषय हो मतदानको प्रक्रियामा हो ।

सामान्यतयाः सभामा गोप्य र खुल्ला मतदान हुने व्यवस्था हुन्छ । तर, प्रदेश १ को प्रदेशसभामा भने सबै निर्णयहरू खुल्ला मतदानबाट मात्र हुने व्यवस्था छ । प्रदेशसभामा सामान्यतया ‘हुन्छ’, ‘हुन्न’ वा मत हाल्दिनँ भन्ने उच्चारण गर्न लगाएर मतदान विभाजन गर्ने गरिन्छ ।

प्रदेश १ को प्रदेशसभा नियमावलीको नियम २३ को उपनियम (१) अनुसार चार तरिकाले मतदान गर्न सकिन्छ । पहिलो, ‘हुन्छ’, ‘हुन्न’ वा ‘मत हाल्दिनँ’ भन्ने उच्चारण गर्न लगाएर । ‘हुन्छ’, ‘हुन्न’ वा ‘मत हाल्दिनँ’ भन्नेलाई भिन्नाभिन्नै ढोकाबाट उपकक्ष अर्थात् ‘लबी’मा प्रवेश गराएर । तेस्रो, स्वचालित मत अभिलेख यन्त्र सञ्चालन गरेर । र चौथो, सांसदहरूलाई उठ्न लगाएर ।

नामकरणसम्बन्धी प्रस्तावमा पनि प्रदेशसभा नियमावलीले खुल्ला मतदानको व्यवस्था गरेको छ । प्रदेशसभामा कुनै नामको प्रस्ताव आएमा सांसदहरू पक्ष वा विपक्षमा खुल्ला रूपले उभिनुपर्छ । नामकरणको मतदानको विषयमा प्रदेश १ को प्रदेशसभा नियमावलीको नियम ५८ (ख)  को उपनियम १८ भन्छ ‘…प्रस्तावको पक्षमा हुन्छ र हुन्न भन्ने पक्षका सदस्यहरूलाई मत विभाजनद्वारा निर्णयका लागि अलग–अलग लबीमा गएर हस्ताक्षर गर्न सभामुखले आदेश दिनेछ ।’

अर्थात् प्रस्तावको कुनै नामको पक्ष वा विपक्षमा भए ‘हुन्छ’ वा ‘हुन्न’ पक्षका सांसदहरूलाई छुट्टाछुट्टै ढोकाबाट उपकक्ष अर्थात् ‘लबी’मा प्रवेश गराएर मत विभाजन हुने व्यवस्था नियमावली छ  । जुन मतदानको प्रक्रियामा कुन सांसदले कहाँ मत हाल्यो अभिलेख रहन्छ ।

गोप्य मतदान हुन सक्छ ?

संविधानको धारा २९५ (२) अनुसार नामकरण गर्न प्रदेशसभाको दुईतिहाइ मतको आवश्यकता पर्छ । अर्थात् कुनै नाम माथिको प्रस्तावमा दुईतिहाइ सांसदहरू सहमत भए नामको विषय टुङ्गो लाग्छ । तर, संविधानमा दुईतिहाइ कसरी पुर्‍याउने भन्ने विषय भने मौन छ ।

संविधानले खुल्ला वा गोप्य मतदानमध्ये एक तरिका चयन गर्न प्रदेशसभालाई खुल्ला छोडिदिएको छ । अर्थात्, प्रदेशसभाले जे प्रक्रिया तय गर्‍यो त्यही प्रक्रियाले प्रदेशको नाम टुङ्गिन्छ ।

पछिल्लो पटक नामकरण गरेको मधेस प्रदेशले भने गोप्य मतदान गरेको थियो । मधेस प्रदेशको प्रदेशसभा कार्यसञ्चालन नियमावलीको नियम ७३ (ख) को उपनियम २३ ले नामको विषयमा खुल्ला वा गोप्य मतदान कसरी गराउने भन्ने अधिकार सभामुखलाई दिएको छ ।

जहाँ लेखिएको छ ‘…प्रस्तावको पक्षमा ‘हुन्छ’ वा ‘हुन्न’ भन्ने पक्षका सदस्यलाई मत विभाजनद्वारा निर्णयका लागि अलग–अलग लबीमा गएर हस्ताक्षर गर्न वा गोप्य मतदानमा सहभागी हुन् सभामुखले आदेश दिनेछ । उक्त प्रस्तावमा उपस्थित सदस्यहरूले हस्ताक्षरद्वारा निर्णय गर्ने प्रक्रियामा अनिवार्य भाग लिनु पर्नेछ ।’

मधेस प्रदेशमा भएको जस्तै तरिकाले प्रदेश १ मा पनि गोप्य मतदानको व्यवस्था गर्नुपर्ने धारणा सांसद सावाको छ । ‘हामीलाई ज्यान जोखिममा परेको फिलिङ भइरहेको छ,’  सावा भन्छन्, ‘त्यसो भएको हुनाले यो अप्ठ्यारोबाट बचाउन कम्तीमा प्रदेशसभा नियमावलीमा संशोधन गरेर गोप्य मतदानको व्यवस्था गरियोस् ।’

सावाकै धारणामा नेपाली कांग्रेसका प्रमुख सचेतकसमेत रहेका सांसद सुर्यामाराज राई आंशिक समर्थन गर्छन् । मूलभूत रूपमा नामकरणको विषय सहमतिबाटै टुङ्ग्याउनुपर्ने धारणा राईको छ ।

‘खास कुरा गर्ने हो भने नामको विषय सहमतिमा टुङ्ग्याउनु पर्छ । सहमति नभई दुईतिहाइ पुग्दैन । मतदान हुने परिस्थितिको अहिले नै कल्पना गरेका छैनौँ,’ राई भन्छन् ‘ तर, मतदान गर्ने नै स्थिति आए गोप्य मतदानसमेत गर्नुपर्ने स्थिति आउन सक्छ । सांसदहरूलाई स्वतन्त्र छोडिदिएर प्रदेशको नाम त राख्नु पर्छ ।’शिलापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x