१९ श्रावण २०८३, मंगलवार

न्याय देऊ कि मृत्युदण्ड

एसीपी संवाददाता

२४ श्रावण २०७९, मंगलवार १२:२७ मा प्रकाशित

अन्नपूर्णपोस्ट – महाभारतको व्याख्या भन्छन्- महारथी कर्णको मृत्यु सातौं पटकमा मात्रै सम्भव भयो। माता कुन्तीले दुई पटक, परशुराम, इन्द्र, गौमाताको श्राप शल्य र अर्जुनले एक-एक पटक गरी कर्णलाई मृत्यु मुखमा पुर्‍याउन सफल भए।

 

जन्मिनेबित्तिकै सूर्यपुत्र कर्णलाई माता कुन्तीले गंगामा बगाइदिएकी थिइन्। यो नै उनको कोख मरण थियो।

योद्धा परशुरामले कर्णलाई ब्राह्मण पुत्रको रूपमा शिष्य स्वीकार गरेका थिए। एकदिन दीक्षा दानकै क्रममा दिवा बिश्रामपश्चात ब्युँझिदा कर्णलाई उनले रक्ताम्यै देखे। कारण सोध्दा बताए- गुरु मेरो काखमा मस्त निदाइरहनुभएको थियो। त्यसै बखत एक बिषालु कालो बिच्छीले मलाई डस्यो। हजुरको निद्रामा असर नपरोस् भनेर मैले उक्त पीडा सहन गरें।

कर्णको जवाफले पशुराम असाध्यै क्रोधित भए। उनी चाहन्थे आफ्नो विद्या कुनै क्षत्रीयले नसिकोस्। त्यसबेलासम्म उनले कर्णलाई धनु विद्यामा निपूण बनाइसकेका थिए। त्यसैले कर्णबाट आफूलाई छल भएको ठानी तुरुन्तै श्राप दिए- ‘काल संकटका बखत मैले सिकाएको महामृत्युञ्जय मन्त्र भुल्नेछौं।’ धनुविद्याका गुरु परशुरामले दिएको श्राप नै उनको दोस्रो मरण थियो।

धनु विद्यामा निपूण कर्ण एकदिन व्याधाको रुपमा वनमा शिकार खेल्दै थिए। अनुमानकै भरमा पनि निशाना लगाउनसक्ने क्षमता भएका कर्णले टाढाबाट हानेको बाण मृगलाई नलागी एक गौपुत्र बछेडालाई लाग्न पुग्यो। आफूले गरेको शिकारको नजिक पुग्दा बछेडाको मृत्यु शोकमा गाई भावविह्वल भई रोइरहेकी थिइन्। गलत जनावरको सिकार गरिएकोमा पछुतो मान्दै कर्णले क्षमा मागे तर सन्तान वियोगले रोइरहेकी गौमाताले श्राप दिइन्- मेरो सन्तानको जस्तै तिम्रो पनि मरण होस्। भूलवस गरिएको सिकारका कारण पाएको श्राप नै उनको तेस्रो मरण थियो।

छातीमा कवच र कानमा कुण्डल भएसम्म कसैले मार्न नसक्ने बरदान प्राप्त सूर्यपुत्र कर्णले महाभारतको युद्ध लड्ने निश्चित भएपछि धर्मयुद्धमा पाण्डव पक्षको हार नहोस् भनेर भगवान विष्णुले स्वर्गका राजा इन्द्रलाई जसरी पनि दानका रुपमा कुण्डल र कवच हत्याउने सुझाव दिए। शास्त्रले भन्छ- अर्जुन सारथी कृष्ण नै भगवान बिष्णुका अवतार थिए। कर्ण महाबलीमात्रै थिएनन्, महादानी पनि थिए। उनको दानी महिमाको फाइदा उठाउँदै गंगा स्नानपश्चात् सूर्यलाई अर्घ चढाएर कुटीमा फर्किँदा योजनाअनुरुप बाटोमा इन्द्रले कवच र कुण्डललाई भिक्षाका रूपमा मागे।

दिउँ मृत्युको निश्चिति तोकिन्छ, नदिउँ आजबाट महादानी कर्णको महिमा झुठमा परिणत हुन्छ। प्राणभन्दा लोकगाथा नै ठूलो भन्ने उक्तिलाई आत्मसात गर्दै अन्ततः उनले इन्द्रलाई रक्षाकवच र कुण्डल दान गरे। सत्य र असत्यको लडाइँ कहिएको महाभारत युद्धमा असत्य हारका लागि उनले आफ्नो सर्वश्व दान गरे। त्यही दान नै उनको चौथो मरण थियो।

युद्धमा आफ्ना सन्तान आमने सामने भएको कुन मातालाई सहय हुन्छ र? आखिर कर्ण पनि कुन्तीपुत्र नै थिए। सूर्यदेवबाट गर्भित कर्णको मृत्यु यस संसारमा कुनै महाबलीबाट सम्भव नभएको माता कुन्तीलाई थाहा थियो, त्यसैले युद्ध समिपिएको बखत कर्णलाई बोलाएर उनले भनिन्- ‘अर्जुन तिम्रा भ्राता हुन्, उनको वध तिमीबाट नहोस्।’

रक्षाकवच र कुण्डल दान गरिसकेका कर्णले आफ्नो मृत्यु आफैँ रोजिसकेका थिए। त्यसैले रत्ति विलम्ब नगरी माता कुन्तीलाई वचन दिए- तिम्रो पाँच सन्तान युद्धमा स-कुशल रहनेछन्। आफैँले दिएको वचन नै उनको पाँचौं मृत्यु थियो।                  पूर्वसभामुख कृष्णबहादुर महराले एक दिन मलाई सम्झाउँदै भनेका थिए- ‘रेशमजी, तपाईँ दोषी हो कि निर्दोष हो, राज्यलाई थाहा छ। यथार्थ कटु सत्य के हो भने टीकापुर घटना नभएको भए राज्यले संविधान लेख्न सक्थेन। तपाईँहरुको जीवन प्रतिष्ठा दाउमा लगाएर लेखिएको संविधान आफैँमा अपूरो छ। धैर्य गर्नुस्, न्याय मिल्ला।         

महाभारत युद्धमा कर्णका सारथी शल्य नकुल र सहदेवका साख्खै मामा थिए। उनी कर्णका सारथी भए पनि पाण्डव पुत्रको मामा भएकाले अर्जुन पक्षधर हुने नै भए। घनघोर युद्ध भइरहँदा कर्णको रथको पाङ्ग्रा हिलोमा धसिन पुग्यो। युद्धरत कर्ण वधको उचित समय यही हो ठान्दै उनले रथ पाङ्ग्रा हिलोबाट उकास्न अस्वीकार गरे। युद्धमा आफैँले दिएको आदेश सारथी सल्यले अस्वीकार गरेपछि उनको ब्रह्मज्ञानले भन्यो- ‘मृत्यु समिप छ।’ रथमै चुपचाप बसिरहे म कायर कहलिने छु र जगबाटै महाबलीको ताज खोसिनेछ। धसिएकोरथ पाङ्ग्रा उकास्न जाउँ अर्जुनले वाण चलाउने निश्चित थियो। नजाउँ सारा लोकले मृत्यु भयका कारण रथमा लुकेर प्राण जोगायो भनेर खिसी गर्लान् भन्ने डर। रथबाट भुइँमा नझरे आफ्नो मृत्यु हुनेछैन भन्ने उनलाई थाहा थियो तर लोकका अघि महाबली पदवी रक्षार्थका लागि उनी तल झर्ने निर्णय गरे। यही निर्णय नै उनको छैठौं मृत्युको कारण बन्यो।

हिलोमा धसिएको पाङ्ग्रा उकास्न कर्ण भूइँमा ओर्लिएपछि अर्जुन सारथि कृष्णले आदेश दिए- ‘‘बाण चलाउ उपयुक्त मौका यही हो।’

‘उनी ताँदो चलाइरहेका छैनन् गोविन्द! अन्य कार्यका बखत वाण चलाउनु हत्या हुन्छ। पाप हुन्छ। अर्जुन अन्कनाउँदै कृष्णसमक्ष बिन्ती गरे।

पाप र धर्मका केहीबेर ब्याख्यापश्चात् अर्जुन बाण चलाउन सहमत भए। अन्ततः त्यही बाणले कर्णको मृत्यु भयो।

महाभारतको कर्ण पात्र उदाहरण दिई ‘म कर्णजस्तै हुँ’ भनेर आफूले आफूलाई भन्न खोजेको होइन तर प्रसङ्ग त्यस्तै बनाइयो। महाभारत युद्धमा पाप गरे कसैले, सजाय भोगे कसैले। युद्ध धर्म अधर्मको थियो तर हत्या पापीहरुको मात्रै भएन, लाखौं धर्मीहरुले समेत मृत्युवरण गरे। युद्ध एक राज्यका लागि थियो तर लाखौं राजाले ज्यान गुमाए। महाभारत युद्धमै एक अवोध अभिमन्यु मारिए। धार्मिक व्याख्याता भन्छन्- युद्ध यस्तै हो। युद्धले बालक बृद्ध भन्दैन। युद्धको परिणाम कि विजय हो कि पराजय हो। सके जित, नसके हार! अन्य विकल्प छैन।

युद्धमा एकसेएक महाबली, महारथीहरुले मृत्युवरण गर्छन्। परिणामतः विजयीता जो कोही पनि हुनसक्छन्। महाभारतमा अर्जुनलाई मात खुवाउने एकसेएक महायोद्धाहरु थिए। तैपनि व्यासले अर्जुन पात्रलाई नायक बनाए। उनैलाई विजय गराए।

धर्मयुद्धमा अर्जुनलाई जिताइयो तर उनै पात्र प्रत्यक्ष स्वर्ग जानबाट वञ्चित बने। अर्जुनका लागि देवराज इन्द्र स्वयं भिखारी बने तर उनैलाई जीवितै स्वर्ग लाने धृष्टता गरेनन्। बरु उनका ठाउँमा उनकै जेष्ठ भ्राता युधिष्टिरलाई रोजे।

टीकापुर घटना महाभारत होइन तर बनाउने प्रयत्न गरियो। सात राष्ट्रसेवक प्रहरी एक बालक सहिद हुनुपर्नाको कारण के हो? के तिनको सहादतले न्याय पायो? उक्त घटनाकै कारण अनाहकमा सयौंले मुद्दा खेप्दैछन्। के टीकापुर घटना कसैको व्यक्तिगत निहित स्वार्थ थियो? खोइ, यथार्थ विश्लेषकहरु? कहाँ गए मानव अधिकारकर्मीहरु? वारदात स्थलको यथार्थ रिपोर्ट किन सार्वजनिक गरिँदैन?

महाभारतको युद्धमा सत्य पक्षबाट स्वयं भगवान कृष्ण नै साक्षात थिए। लाखौं राजाहरूको साथ पनि पाण्डव पक्षमा थियो। युद्धभन्दा पहिले र युद्धपश्चात् सत्य असत्यका बारे सयौं बहस चले। युद्धको निष्कर्ष निकालिएको थियो- कुनै पनि घटना कारणले घट्छ र त्यसको यथार्थ छानविनसहित सार्वजनिक हुनुपर्छ। यहाँ त घटनास्थलकै वास्तविकता बुझेर पनि बंग्याउने प्रवृत्तिले प्रश्रय पाइरहेको छ। बाङ्गाहरुलाई विजयी बनाउने प्रयत्न गरिँदैछ। बाङ्गाहरु नै बाहुबलीझैँ गर्दैछन्। योभन्दा बढी अन्यायको पराकाष्ठा कहाँ होला र?

हामी टीकापुर घटनाको सातौं वर्षमा छौं। न्याय अन्यायको बहस राज्यले चलाइदिएन। थारुहरुलाई केवल अन्यायको भुङ्ग्रोमा पोल्ने चेष्टा गरिँदैछ। उक्त घटना घटेदेखि आजसम्म हाम्रो एउटै जिकिर छ- न्याय ! न्याय !! न्याय !!!

डिल्लीबजार कारागारमा सँगै रहँदा पूर्वसभामुख कृष्णबहादुर महराले एक दिन मलाई सम्झाउँदै भनेका थिए- ‘रेशमजी, तपाईँ दोषी हो कि निर्दोष हो, राज्यलाई थाहा छ। यथार्थ कटु सत्य के हो भने टीकापुर घटना नभएको भए राज्यले संविधान लेख्न सक्थेन। तपाईँहरुको जीवन प्रतिष्ठा दाउमा लगाएर लेखिएको संविधान आफैँमा अपूरो छ। धैर्य गर्नुस्, न्याय मिल्ला।

कहिले मिल्ला न्याय? स्वास्नी नाङ्गै सहर घुमाएर हुर्मत लिने धम्कीका कारण आत्महत्या गरिसकेपछि भिमसेन थापा निर्दोष थिए भनेर घोषणा गरिएको जस्तो न्याय हो? कि टाउको काटिसकेपछि भिम मल्ल राज्यप्रति बफादार थिए भन्ने राज्यले सफाई दिएजस्तै दिइने न्याय हो। शरीरको अस्तित्व समापनपछिको न्याय, के न्याय? त्यस्तो न्याय इतिहासको अक्षरमा लेखिन त सकिएला तर पीडित परिवार, पुर्खा सबैले अस्वीकृत गर्ने त्यस्तो न्यायको के अस्तित्व? के महत्व?

महराले गाँठी कुरो फुकाउँदै भनेका थिए- त्यो घटना टीकापुरमै घट्छ भन्ने एकीन त थिएन तर स्थिति परिस्थितिले राज्यलाई सहज बनायो होला। योचाहिँ ठोकुवै हो- देशभरि पहिचानको आन्दोलन दन्किएको बेला संविधान लेखनका लागि एक ठूलो दुर्घटना नघटेको भए आफूले इच्छाएका कानुनका धारा उपधारा लेख्न सम्भव थिएन। अहिलेको सात प्रदेश सीमाङ्कनको खाका के जनताले इच्छाएको जस्तै हो त? यी सब स्वार्थपूर्तिका लागि एक निहुँचाहिँ चाहियाथ्यो। त्यो तपाईँहरु हुनुभो! उहाँको कथनमा वास्तविकता लुकेको छ। राज्यको बेवकुफीले दुर्घटित घटनाको जिम्मेवारी हामीलाई कदापी स्वीकार्य छैन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x