केपि ओलि र राप्रपा बिच तालमेलको खेल
काठमाडौं । आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमा सत्ता गठबन्धन दलहरूले चुनावी तालमेल गरेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा (राजमो)ले चुनावी तालमेल गरेका हुन् ।
पाँच दलीय सत्ता गठबन्धनका दलरूले चुनावी तालमेल गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई संकट परेको छ । पाँच दलसँग एक्लै चुनावी मैदानमा भिड्न उसलाई संकट परेको हो ।
२०७४ सालको निर्वाचनमा पहिलो पार्टी बनेको एमाले आगामी चुनावमा पहिलो बन्ने सम्भावना न्यून छ । बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचको मत परिणामअनुसार दोस्रो बनेको छ । यो परिणामलाई आधार मान्ने हो एमाले संघ र प्रदेशको निर्वाचनमा पहिलो पार्टी बन्ने सम्भावना न्यून रहेको सत्यलाई नकार्न सकिँदैन ।
तथापि अहिले पनि एमाले पहिलो पार्टी बन्ने दम्भ देखाउँदै आएको छ । अध्यक्ष केपी शर्मा संसदमै खुलेआम एमाले पहिलो पार्टी बन्ने दाबी गर्छन् भने– ‘स्थानीय चुनावमा केही सीट तलमाथि भए पनि लोकप्रिय मतका आधारमा पहिलो पार्टी एमाले नै हो । सत्ता गठबन्धनलाई चुनाव जिताउन राज्यको साधनस्रोतको व्यापक दुरुपयोग भएको ओलीले बैठकमा दाबी गरे । गठबन्धन सरकारले पञ्चायतकालमा भन्दा बढी धाँधली गरेको उनको भनाइ थियो ।’
संसदमा मात्रै होइन, ओलीले देशका विभिन्न ठाउँमा हुने कार्यक्रममा आफू स्वयं पुगेर एमाले पहिलो पार्टी हुने दाबी गर्दै आएका छन् । उनले पार्टीका नृेता तथा कार्यकर्तालाई हौस्याउँदै पार्टी पहिलो बनाउन निर्देशन दिएका छन् । उनले संघ र प्रदेशको निर्वाचनमा एमालृे पहिलाृे दल बनाउन आन्तरिक रूपमा देशका ७ प्रदेश र ७७ जिल्लाका इञ्चार्ज र अध्यक्षलाई रुलिङ गरिसकेको स्रोत बताउँछ ।
त्यतिमात्रै होइन, अध्यक्ष ओलीले प्रतिपक्षी दलका असन्तुष्ट र रुष्ट नेताहरूलाई एमालेमा भित्र्याउन कोसिस गरिरहेका छन् । उनले अन्य दलका नेतालाई आफ्नो पार्टीमा प्रवेश गराएर आगामी चुनावमा लागि टिकट समेत दिने आश्वासन दिएका छन् भने पार्टीभित्र पनि उचित स्थान र पद दिने बताउँदै आएका छन् ।
विशेष गरी एकीकृत समाजवादीका असन्तुष्ट नेतालाई आफ्नो पार्टीमा फर्काउने एमालेको रणनीति छ । किनकि एमाले विभाजन हुँदा २४ जना सांसद एकीकृत समाजवादीमा गएका छन् भने १२ जना प्रत्यक्षतर्फका सांसद हुन् । उनीहरूमध्ये जो–कोहीलाई एमालेमा भित्र्याएर टिकट दिने बताइएको छ ।
यस विषयमा एकीकृत समाजवादीका एक नेता भन्छन्– ‘एमालेमा प्रवेश गरेमा टिकट पाउन गाह्रो छैन । तर, जित्न मुस्किल छ । उसले बनाएको रणनीति जस्तो हामीलाई सहज छैन । पार्टीभित्रै चरम असन्तुष्टि पैदा भएको छ । नेता भीम रावल, घनश्याम भुसाल जस्तालाई जिम्मेवारीविहीन बनाइएको छ ।’
अध्यक्ष ओलीले पार्टीका पदाधिकारी, पोलिटब्यूरो र केन्द्रीय सदस्य लगायत सबै नेताहरूलाई एमालेलाई पहिलो पार्टी बनाउन र २०७४ को विरासत फर्काउन जोडबल गर्न निर्देशन दिएका छन् । उनको निर्देशन बमोजिम पार्टीका आमनेता तथा कार्यकर्ता चुनावी तयारीमा लागेका छन् ।
ओली र लिङ्देनबीच ‘बाच्छाको तुस’ कायमै
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच बाच्छाको तुस कायमै रहेको स्रोतको निकिर छ । गत वर्ष २०७८ मंसिरमा सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा ओलीले व्यंग्य गर्दै लिङ्देनलाई बाच्छाको हुंकारको संज्ञा दिए । त्यसयता ओली र लिङ्देनबीच वैयक्तिक तुस बढेको देख्न सकिन्छ ।
तथापि चुनाव नजिकिएसँगै कमजोर महसुस गरेका एमालेलगायत अन्य साना राजनीतिक दलबीच तालमेल हुने सम्भवना पनि नजिक छ । यद्यपि स्थानीय तह निर्वाचनमा चुनावी तालमेल भए पनि आगामी संघ र प्रदेशको चुनावमा ओली र लिङ्देनको तुसले के गर्छ यसै भन्न सकिँदैन । तर, उनीहरू दुवैको गृहजिल्ला झापा हो । यस कारण उनीहरूबीच चुनावी तालमेल हुने वा नहुनेबारे सर्वत्र चासोको विषय बनेको छ । ओली र लिङ्देनबीच तुस भएपनि झापामा राप्रपाको बाहुल्यता भएकाले ओली चुनावी तालमेल गर्न चाहान्छन् । अन्यथा ओलीले झापा हाँक्न मुस्किल हुनेछ ।
एमाले पुरानो विरासत फर्काउन हरहमेशा प्रयासरत रहेपनि विरासत नफर्किनेमा दुईमत छैन । यहीँ बुझेका ओलीले स्थानीय तह निर्वाचनमा राप्रपासँग जसरी चुनावी तालमेल गरेका थिए, सोही बमोजिम संघ र प्रदेशको चुनावमा तालमेल गर्ने पक्षमा उभिएका छन् । यसका लागि राप्रपासँग संवाद भइरहेको नेता महेश बस्नेत बताउँछन् । तर, हालसम्म पनि यस विषयमा निचोड ननिस्केको छैन ।
एमाले र राप्रपाको चुनावी तालमेललाई लिएर राजनीतिक वृत्तमा आलोचना सुरु भएको छ । दक्षिणपन्थीसँग बामपन्थीको चुनावी तालमेल सुहाउँदो नहुने कतिपयको भनाइ छ । ‘यदि एमालेको भनाइलाई आधार मान्ने हो भने उसले एक्लै चुनाव लडेर बहुमत ल्याएर देखाओस्, त्यसैमा उसको भलाइ छ भन्छन्,’ –राजनीतिक विश्लेषक श्याम श्रेष्ठ ।
श्रेष्ठ भन्छन्– ‘एमाले आफ्नै कारणले खुम्चिदै जाँनू उसको आफ्नै कारण हो । हुँदाखादाको बहुमतको सरकार चलाउन नसक्ने, दुई–दुई पटक संसद् विघटन गर्ने र आन्तरिक विवाद मिलाउन नसक्नुले एमालेको आकार खुम्चिएको हो । खुम्चिएको आकारलाई लम्बाचौडा बनाउन ओलीले जति नै प्रयास गरे पनि सम्भव छैन । उसले राप्रपा र राप्रपा नेपालसँग चुनावी तालमेल गरे पनि उसको आकार तन्किने होइन, झन् खुम्चिदै जाँन्छ । बरु ती साना दलसँग तालमेल गर्नुभन्दा एक्लै चुनाव लड्नु बुद्धिमानी हुन्छ ।’


