१ आश्विन २०८३, बिहीबार

कट्टरपन्थी नकाबधारीको हमलामा परेका भारतीय लेखक सलमानको अवस्था गम्भीर

एसीपी संवाददाता

२८ श्रावण २०७९, शनिबार १२:५९ मा प्रकाशित

एजेन्सी –  भारतीय मूलका विश्वप्रसिद्ध लेखक सलमान रूस्दीमाथि शुक्रबार अमेरिकाको न्यूयोर्क राज्यमा हमला भएको छ । एक सार्वजनिक कार्यक्रमबीच नकाब लगाएका व्यक्तिले मञ्चमै उक्लेर रूस्दीको घाँटीमा छुरा प्रहार गरेका थिए ।

बिबिसीले जनाए अनुसार भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ तर उनी बोल्न सक्ने अवस्थामा छैनन् । उनको घाँटी र हातमा गम्भीर चोट लागेको बताएको छ । उनको कलेजोमा क्षति पुगेको छ भने आँखामा गहिरो चोट लागेको छ ।

न्यूयोर्क राज्यका गभर्नर केथी होचुलले रूस्दीको उपचार जारी रहेको प्रेस ब्रिफिङमा बताएका छन् । अर्को समाचार संस्था रोयटर्सले रूस्दीका एजेन्टलाई उद्धृत गर्दै उनको शल्यक्रिया भइरहेको जनाएको छ ।

अमेरिकी समयअनुसार शुक्रबार बिहान ११ बजे रूस्दीमाथि हमला भएको थियो । त्यति बेला उनी पश्चिमी न्यूयोर्क राज्यमा आयोजित एक कार्यक्रममा मन्तव्य दिँदै थिए ।

कालो नकाब लगाएका व्यक्तिले मञ्चमै उक्लेर उनको घाँटीमा कयौंपटक छुरा प्रहार गरेको प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै बिबिसीले समाचार लेखेको छ । हमलालगत्तै उनी भुइँमा ढले । उनको मन्तव्य सुन्न आएकामध्ये दस–पन्ध्र जना व्यक्तिले मञ्चमा चढेर आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए ।

हमला गर्ने व्यक्तिलाई घटनास्थलबाटै पक्राउ गरिएको न्यूयोर्क राज्य प्रहरीले जनाएको छ । रगताम्मे रूस्दी करिब पाँच मिनेट भुइँमै लडिरहेका थिए । त्यसपछि उनलाई उठाएर कार्यक्रम स्थल बाहिर लगियो । त्यहाँबाट हेलिकप्टरमा राखेर नजिकको अस्पताल पुर्याइयो ।
लष्अ

अन्तर्राष्ट्रिय बुकर पुरस्कार विजेता ७५ वर्षीय रूस्दीले केही वर्षयता ज्यानको धम्की सामना गर्दै आएका थिए । भारतमा जन्मिएका रूस्दीको सन् १९८१ मा प्रकाशित ‘मिडनाइट चिल्ड्रेन’ ले बुकर पुरस्कार जितेको थियो । यो उपन्यास बेलायतमा मात्र १० लाख प्रतिभन्दा बढी बिकेको रेकर्ड छ। उनी यसैबाट संसारभर लोकप्रिय भए । उनका १४ वटा उपन्यास प्रकाशित छन् ।

सन् १९८८ मा प्रकाशित चौथो उपन्यास ‘द सैटनिक भर्सेस’ ले इस्लामविरोधी धारणा फैलाएको भन्दै उनीमाथि ज्यानको धम्की आउन थालेको थियो। त्यसपछि झन्डै एक दशक उनी भूमिगत भएका थिए।

संसारभरि किताबको विरोध हुन थालेपछि प्रतिबन्ध लगाउन माग गरिएको थियो । सँगसँगै सेन्सरसिप र किताब जलाउने प्रवृत्तिको विरोधमा पनि थुप्रै प्रदर्शन भए।

किताब प्रकाशन भएको एक वर्षपछि इरानका सर्वोच्च नेता अयातुल्ला खुमैनीले रूस्दीलाई मार्ने फतवा जारी गरेका थिए। यसले संसारभरि हलचल मच्चिएको थियो।

सैटनिक भर्सेस प्रकाशनपछि विभिन्न देशमा भएको विरोध प्रदर्शन क्रममा ५९ जनाको ज्यान गइसकेको बिबिसीले जनाएको छ। मृतकहरूको सूचीमा उपन्यासका अनुवादकहरू पनि छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x