गठबन्धनभित्र कसरी हुँदैछ उम्मेदवारको भागबण्डा?
केही दिनअघि सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए- ‘अब टिकट माथिबाटै टिकट बाँडिन्छ। मान्छे हेरी हेरी दिइन्छ।’
केपी ओलीको सरकार ढाल्नका लागि डेढ वर्षअघि एकै ठाउँमा उभिएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेर यसपालिको स्थानीय चुनाव लडेका थिए।
स्थानीय निर्वाचनमा हज्जारौं उम्मेदवारी थियो र ती सबैलाई केन्द्रबाटै उम्मेदवारी टुङ्ग्याउन सजिलो थिएन। त्यसैले यी पाँच दलले आवश्यकताअनुसार गठबन्धन गर्न आफ्ना पार्टीका स्थानीय समितिहरूलाई नै जिम्मेवारी दिएका थिए र महानगर र उपमहानगरहरूमा केन्द्रबाटै उम्मेदवारी टुङ्ग्याएका थिए।
त्यो बेला कतिपय ठाउँमा गठबन्धनमै रहेका दलहरूबीच घम्साघम्सी भयो। कतिपय स्थानीय तहमा उनीहरू मिलेर लडे।
कतिपय मिलेकै ठाउँमा पनि चुनाव हारे। आफ्नै पार्टी अनि गठबन्धनभित्रैका दलहरूबीच पनि ‘अन्तर्घात’ भयो भन्ने निश्कर्षमा लगभग सबै दल पुगेका छन्।
त्यसैले प्रचण्डले अझै पनि नेपाली कांग्रेसलाई बेला बेला धम्की दिइरहन्छन्- अबको निर्वाचनमा त्यस्तो धोका भयो भने परिणाम नराम्रो हुन्छ।
केही दिनअघि उनले भनेका थिए- गएको स्थानीय निर्वाचनमा अलि नमीठा अनुभव बढी भए। अनौठा अनौठा भए। तर अब त्यस्तो हुँदैन। आफैभित्र पनि घात र अन्तर्घात भएका सबै पार्टीहरूसँग अनुभव छन्।
अब कसरी सिट बाँडफाट हुन्छ?
त्यसका लागि गठबन्धनले सिट बाँडफाट गर्न जिम्मेवारी दिएका नेताहरूले छलफल बाक्लो बनाउन लागेका छन्।
आगामी मंसिर ४ गते देशभरि एकै चरणमा प्रदेश सभा र प्रदेश सभाका लागि चुनाव हुनेछ। निर्वाचन आयोगले त्यसका लागि आफ्नो तयारी सुरू गरिसकेको छ र निर्वाचनसम्बन्धि औपचारिक कामहरूको कार्यतालिका सार्वजनिक गरिसकेको छ।
गठबन्धन दलहरूले सबै पार्टीबाट प्रतिनिधित्व हुनेगरी सिट बाँडफाट गर्न ११ जना सदस्य रहेको एउटा कार्यदल बनाएका छन्।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको यो कार्यदलमा कांग्रेस महामन्त्री गगन थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन्। त्यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ छन्। एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदलमा सदस्य छन्।
यो कार्यदलको बैठक बिहीबार पनि बसेको थियो। तर कुन दलले कति सिटमा चुनाव लड्ने विषयमा अझै स्पष्ट कार्यदिशा यो बैठकले तय गर्न सकेन।
बैठकमा सहभागी नेताहरूका अनुसार सबै दलका नेताहरूले सिट बाँडफाटका आधारहरू प्रस्ताव गरेका थिए। तर कुन आधारमा कुन दलले कति उम्मेदवारी पाउने भन्नेबारे अझै निर्णय भइसकेको छैन।
अहिले प्रतिनिधिसभामा २७५ जना सांसद छन्। देशभरिबाट प्रत्यक्ष चुनिएर आउने १६५ सिटमा हो। बाँकी मतका आधारमा समानुपातिक सांसद हुन्छन्।
गठबन्धन दलहरूले ती १६५ सिटमै उम्मेदवारी दिनेगरी भागबण्डा मिलाउन कसरत गरिरहेका छन्।
नेपाली कांग्रेसले ६० प्रतिशत सिटमा दाबी गरेको छ। त्यो भनेको लगभग १०० सिट हो। यसको अर्थ देशभरका १६५ मध्ये १०० निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार हुनेछन्।
अरू दलहरूले ५० प्रतिशत सिट कांग्रेसलाई दिएर बाँकी सिटहरू अरु चार दलले बाँड्नुपर्ने प्रस्ताव अघि सारेका छन्। तर कुरो अझै टुङ्गिएको छैन।
बिहीबार बसेको कार्यदलको बैठकमा पनि यही विषयमा छलफल लम्बिएको थियो। नेताहरूले अहिले कुन दलका कति सांसद छन् त्यसका आधारमा सिट संख्या बाँड्न प्रस्ताव पनि गरेका थिए।
२०७४ सालको चुनावमा नेपाली कांग्रेसले २३ ठाउँमा मात्रै प्रत्यक्ष जितेको थियो। एमालेसँग गठबन्धन गरेर माओवादी केन्द्रले ३६ सिट ल्यायो। एमालेसँग छुट्टिएर माधव नेपालले बनाएको अहिलेको समाजवादी केन्द्रसँग १२ जना निर्वाचित सांसद छन्। ती पनि तत्कालीन एमालेकै हुन्।
आगामी निर्वाचनमा गठबन्धनबाट कुन दलले कति सिटमा उम्मेदवारी दिने भन्ने एउटा आधार यो पनि हुनसक्छ। तर कार्यदलका नेताहरूले यो मात्रै अन्तिम आधार हुननसक्ने दाबी गर्छन्।
‘अरू मोडालिटिका बारेमा पनि कुराकानी भइरहेको छ। सिट बाँड्ने आधारहरू धेरै छन्’ बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी नेता देव गुरूङले भने ‘कुन क्षेत्रमा कुन दलका उम्मेदवार बलियो छ? वा जनाधार कसको कहाँ बलियो छ भन्ने पनि हेर्नुपर्छ। एउटामात्रै आधारमा सिट बाँडिन्न।’
अर्को आधार भनेको स्थानीय तहको निर्वाचन पनि हो। त्यसका आधारमा पनि जनमतको आंकलन गरेर आगामी निर्वाचनका लागि सिट संख्या बाँड्नेबारे पनि कार्यदलभित्र छलफल चलिरहेको छ।
‘अब अर्को बैठक ३० गते फेरि बस्नेछौं’ उनले भने ‘त्यो बैठकले सिट बाँड्ने आधारहरूलाई लगभग टुङ्ग्याउनेछ।’

उनका अनुसार बिहीबारको बैठकमा सिट बाँडफाटका विभिन्न मोडालिटीबारे आएका प्रस्तावहरूबारे त्यही बैठकमा थप छलफल हुनेछ। उनका अनुसार निर्वाचनमा दलहरुले प्राप्त गरेको मत, संसदमा अहिलेको उपस्थिति लगायतका विषयलाई हेरेर सिट बाँडफाट हुनेछ।
कार्यदलले यसबारे अन्तिम टुङ्गो लगाएपछि आफ्ना सुझावहरू गठबन्धनका शीर्ष नेताहरूलाई बुझाउनेछन्।