६ मंसिर २०८१, बिहीबार

रेशमको चिन्ताः ‘थरुहट माता, म तिमीलाई जोगाउन सक्छु कि सक्दिनँ ?

एसीपी संवाददाता

१० भाद्र २०७९, शुक्रबार १४:४७ मा प्रकाशित

रेशम चौधरी 
२०६४ सालको थारू आन्दोलन ‘एक मधेस एक प्रदेश’ विरुद्ध थियो। राज्यको सहयोगमा भएको त्यही आन्दोलनका कारण मधेसी हारेझैं देखियो। तर‚ सँगै आन्दोलनकर्मी थारूको पनि हार भएको थियो।
२०६४ सालमा पहिलो थरुहट आन्दोलन भयो। जसमा पाँच जना थारू सहिद भए। आन्दोलन उचित र अनुचित के हो भन्ने एक दिन अवश्य समीक्षा होला।
थरुहट आन्दोलनबारे थारूहरूसँग न सल्लाह भएको थियो‚ न उनीहरूबीच हल्ला नै। तर, एकाएक आन्दोलन उठ्यो‚ चैत वैशाखको डढेलो झैं। आन्दोलन परिचालित थियो। राज्यको सहयोग थियो। तर‚ राज्यलाई सहयोग गर्दागर्दै पनि किन पाँच जना थारू सहिद भए ? यो गम्भीर विषय हो।
थारू आन्दोलन मधेसलक्षित थियो। आन्दोलन उचाल्नेको एउटै उद्देश्य थियो, मधेस मधेसीको मात्रै होइन, थारूहरूको पनि हो। बस, यही शब्दको झिल्काले आन्दोलनको डढेलो लाग्यो। सारा थारू सडकमा आए। आन्दोलन किन र कसरी भइरहेको छ भन्ने बुझेका हामीले त्यो भीडलाई नियन्त्रण गर्न सक्ने अवस्था थिएन। थारूहरू परिचालित आन्दोलनबारे अनभिज्ञ थिए।
आन्दोलनको ज्वारभाटा रोक्ने प्रयास गर्यौं। आन्दोलनको यथार्थबारे दुई चार ठाउँमा बोल्यौं। तर‚ जहाँ बोल्थ्यौं, उल्टै थारू विरोधी, आन्दोलन विरोधीको संज्ञा पाउँथ्यौं। सत्य उजागर गर्दा हुने बेवकुफीको कारण म सोच्थें‚ ‘‘जनता जङ्गलमा ठडिएका वृक्ष हुन्। हावा चलेपछि पात हल्लिनै पर्छ। पात हल्लाउने हावालाई दुई चार जनाले फुकेको फुङ्कारले थाम्न सक्दैन।’’
म फूलबारी एफएमबाट सम्झाउन प्रयत्न गर्थें। बेवकूफ बनियो, तर सम्झाउन सकिएन। जीवनमा पहिलो पटक आभास भयो‚ ‘‘विष फैलिई सकेपछि अमृतको कामै रहेनछ।”
राज्यलाई सरल सहज रूपमा परिचालित हुने जनता चाहिन्छ। ती जनतालाई नियाल्ने अगुवा आफ्नो खल्तीको भए झन् गजब हुन्छ। आवश्यक परेको वेला खर्चियो, नत्र धन्सारमा थन्क्यायो। त्यो वेला राज्यले त्यस्तै आन्दोलन अगुवा भेट्टायो, जस्तो राज्यले चाहेको थियो।
२०६४ सालको थारू आन्दोलन गर्न उचाल्नेको एउटै उद्देश्य थियो, मधेस मधेसीको मात्रै होइन, थारूहरूको पनि हो। बस, यही शब्दको झिल्काले आन्दोलनको डढेलो लाग्यो।
आन्दोलन सकियो। मधेसी हारेझैं देखियो। आन्दोलनकर्मी थारू पनि हारे। तैपनि, थारूहरूमा विजयीभाव थियो। किनकि‚ मधेसीहरूले ताकेको २३ जिल्ला मधेस भएन। यही खुशियालीमा थारूहरूले भोज गरे। थरुहटमा खुशीयाली छायो। आन्दोलनका अगुवाहरूलाई अबीर घसिदिए। त्यो आन्दोलनका सीमित अगुवाहरूले लङ्का विजयको डङ्का फुकेर झूटको पगरी सिउरिए‚ बहादुरको संज्ञा पाए। आफ्नो स्वार्थ पूरा भएकोमा राज्य सबैभन्दा बढी उमङ्गित थियो।
आन्दोलनका अगुवाहरूलाई मिडियाले खोजी खोजी अन्तर्वार्ता लिए। यदि अन्तर्वार्तामा दुवै पक्ष सँगै भए मधेसी नेता अत्यन्त शालीन भएर जवाफ दिन्थे। थारू नेताहरू सिद्रा बेचुवा, मिर्चा बेचुवा भन्दै उग्र हुन्थे। दुवैलाई उचालेर राज्य रेफ्री भएको थियो। गोल भए पनि सिट्ठी, फाउल भए पनि सिट्ठी। मधेसीले फाउल गर्दा पनि राज्यले सिट्ठी बजाउँथ्यो। थारूले गोल गर्दा पनि राज्यले सिट्ठी बजाउँथ्यो। हामी वास्तविक खेलाडीहरू बाहिर थियौं। मैदानभित्र प्रवेश नपाएकाले न फाउल गर्न सक्थ्यौं, न गोल गर्न सक्थ्यौं। साँच्चै भन्नुपर्दा मैदानमा हामी प्रवेश गर्न सक्ने अवस्थै भएन।
२०६४ सालको थारू आन्दोलनलाई मधेसी बुद्धिजीवीहरूले नजिकबाट नियालिरहेका थिए। उनीहरुलाई थाहा थियो, थारूले साथ मात्रै दिए मधेस एक प्रदेश हुन सक्थ्यो। तर‚ थारूलाई पहाडीले उचाल्यो। जसका कारण मधेस एक प्रदेश बनाउने सपना चकनाचुर भयो। यदि थारूले ‘मधेस एक प्रदेश’ बनाउन सघाएको भए मधेसी बुद्धिजीवीले आधा आधा बाँडेर थरुहट प्रदेश दिन तयार थिए।

मधेस एक प्रदेश हुन नदिने आन्दोलन उठाउन राज्यले नगद सहयोग पनि गर्यो। आन्दोलन सफल भएपछि अगुवाहरूलाई राज्यले पुरस्कार दियो। केही आँखा चिम्लिई प्राकृतिक सम्पदा दोहन गर्न दिएर सहयोग गर्यो। खोलानालाको ढुङ्गामा गुन्डा–डनले कर उठाउँथे, पछि थारूले उठाए। हिजो भन्सार भन्सारमा तस्करहरूसँग साँठगाँठ गर्दै उरन्ठेउला राजनीतिक संरक्षणप्राप्त दादाहरूले कर उठाउँथे, पछि आन्दोलनको नाममा थारूले उठाए। राज्य जहिल्यै जान्दछ, ‘‘यस्तै मान्छे आफ्नो कमैया भइदिए सधैं खेत जोताउन पाइन्छ।’’
यदि थारूले ‘मधेस एक प्रदेश’ बनाउन सघाएको भए मधेसी बुद्धिजीवीले आधा आधा बाँडेर थरुहट प्रदेश दिन तयार थिए।
२०६४ को आन्दोलन मधेस एक प्रदेशको विरुद्ध थियो भने २०७० को थरुहट आन्दोलन संविधानमा हक अधिकार प्राप्तिका लागि। थारूहरू आफ्नो भूगोलमा आफ्नो राज्य स्थापनाका लागि संघर्ष गर्ने दाउमा थिए। तर‚ पहाडीहरूले २०७० को आन्दोलनलाई आफू विरुद्धको ठाने। थारूहरूको राजनीतिक कुटनीति यहीनेर फेल भयो। थारूहरू मधेसी र पहाडी दुवैका आँखाको छारो भए।

यही समयमा एकीकृत नेकपा माओवादीबाट सरकारको नेतृत्व गरिरहेका तात्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानसभा भङ्ग गरी निर्वाचनको घोषणा गरिदिए। थारूहरू मधेसी र पहाडी दुवैबाट पूर्ण रूपमै अलग भैसकेको सङ्केत तत्कालीन मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले बुझिसकेका थिए। त्यही अनुसार उनी २०७० को संविधानसभा निर्वाचनमा होमिए।

थारूहरूले पनि पहाडी र मधेसीलाई नेता मान्नुभन्दा आफ्नै वर्ग समुदायकालाई नेतृत्व चुन्नु ठीक ठाने। गच्छदारले त्यसको लाभ उठाए। स्थानीय निकायमा आधा दर्जन बढी ठाउँमा फोरम (लोकतान्त्रिक) ले झण्डा फहरायो । थारूहरूले त्यत्रो जनमत एकीकृत भएर साथ दिंदादिंदै पनि गच्छदारले आफ्नो पार्टीलाई काँग्रेसमा विलय गरे। यसले थारूहरूको एक हुने सपना उध्रियो।
२०७० को निर्वाचनपछि संविधानसभा सदस्यहरू जनमत सङ्कलनका लागि गाउँ गाउँ खटिए। उनीहरूले बोराका बोरा जनताका विचार, सुझाव बोकेर आए। तर‚ राज्यले नचाहेपछि कसको के लाग्छ र ? ती विचार, सुझाव सिंहदरबारको एक कोठामा थन्क्याइयो। ती बोरा खोलिएनन् । अर्बौं रुपैयाँ खर्चिएर सङ्कलन गरिएको सुझावको बोरा नखोल्नुको रहस्य के थियो ? जनताले त्यति वेलै बुझ्नुपथ्र्यो, नेताहरू हाम्रो इशारामा चल्दैनन्। उनीहरू त हामीलाई केवल मतका लागि मात्र प्रयोग गर्छन्। यिनले गर्ने शासनको साँचो अन्य कसैका हातमा छ।

सभासद्ले बोकेर ल्याएका तिनै बोरामा दुई तिहाइभन्दा बढी पहिचान सहितको थरुहट प्रदेशका नाममा सुझाव प्रेषित थिए। त्यसैले राज्यलाई थाहा थियो, ‘‘बोरा खोले जनताको विचारले जित्नेछ। हाम्रा स्वार्थहरू सधैँका लागि हार्नेछन्।

सुझावको पोको नखोलेर संविधानसभाका सदस्यहरूले नागरिक विचारको बलात्कार गरे। राज्यको अर्बौं ढुकुटी खर्चिएर नागरिकको विचार सार्वजनिक नगर्ने राजनीतिक दलहरूले नागरिकको हक स्वतन्त्रता, विचारको दमन गरे। इतिहासले त्यसको हिसाबकिताब राख्नेछ। सभासद्ले बोकेर ल्याएका तिनै बोरामा दुई तिहाइभन्दा बढी पहिचान सहितको थरुहट प्रदेशका नाममा सुझाव प्रेषित थिए। त्यसैले राज्यलाई थाहा थियो, ‘‘बोरा खोले जनताको विचारले जित्नेछ। हाम्रा स्वार्थहरू सधैँका लागि हार्नेछन्। हाम्रा राजनीतिक मार्ग सदाका लागि बन्द हुनेछ।’’ त्यही ठानेर जनताको सुझावको बोरा सिंहदरबारमा थन्क्याइयो।
जनताको विचार थन्क्याउने राज्यले आवश्यक परे विद्रोहलाई समेत थन्को लगाइदिन्छ। अहिले हामी राज्यको हत्केलामा सर्कसेले खेलाउने बलजस्तै भएका छौं। स्वार्थी हाम्रै जमातले हामीलाई सधैँ सर्कसको जनावर बनाइरहन चाहन्छ। तर, हामी स्वतन्त्रता चाहन्छौं। दुईचार फिला मासु पाउने चाहनामा सर्कसमा नाच्ने बाघ बन्न चाहँदैनौं।
त्यसैले पहिचानका लागि अनवरत लडिरहेका छौं र लडिरहनेछौं। तर‚ कहिलेकाहीं लाग्छ, राज्यसँगको लडाइँमा सँगै हिँडेका भ्राता विभिषणहरूका कारण स्वर्ण लङ्का गुमाउनुपर्ने त होइन ? तर, एउटा प्रतिबद्धता छ‚ “थरुहट माता, म तिमीलाई जोगाउन सक्छु कि सक्दिनँ । तर, प्रयत्नरत संघर्षबाट म भाग्दिनँ।” हिमालखबरबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x