भारतको गोवामा तिज महोत्सव सम्पन्न
भारत – गोवा नेपाली समाजद्वारा आयोजित हरितालिका तिज विशेष सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गोवा सरकारका सांस्कृतिक तथा खेलकुद मन्त्री गोविन्द गाउडेले भारतको विकासमा नेपालीहरुको महत्त्वपूर्ण योगदान रहेको बताए । उनले नेपाली गोर्खा राइफल बोर्डरमा भएका कारण आफूहरु चयनसित सुत्न पाएको बताए ।
प्रगतिशील नेपाली समाज समिति भारतका केन्द्रीय सदस्य लोकेन्द्र सेर्पालीले गोवाको विकास र समृद्धिमा नेपालीहरुको महत्त्वपूर्ण योगदान रहेको र आगामी दिनमा गोवा सरकारसित हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए । साथै उनले भारतमा बर्सेनि सयौंको संख्यामा नेपालीहरुको मृत्यु हुने गर्छ तर दिल्लीस्थित नेपाली दुतावासले आधिकारिक रुपमा अत्तोपत्तो गर्दैन र नेपाल सरकारले मृत्यु हुनेलाई नेपालसम्म लैजान कुनै पहलकदमी गर्दैन भन्ने आरोप लगाए । 
कार्यक्रममा अखिल भारत एकता मंचका केन्द्रीय सचिव प्रेम सेर्पालीले पनि मन्तव्य राखेका थिए । कार्यक्रम संचालन सो संगठनका महासचिव बलाराम सेर्पालीले गरेका थिए भने कार्यक्रमको सहजिकरण रेडियो संचालिका भावना केसीले गरिकी थिइन् l कार्यक्रमका अथितिहरुमा प्रगतिशील नेपाली समाज भारतका केन्द्रीय प्रवक्ता अर्जुन कार्की, गोवा प्रदेश अध्यक्ष ओपेन्द्र शाही, निर्मला आचार्य लगायत थिए । नेपाली नारीहरुको महान चाड हरितालिका तिजलाई प्रदेश मै भए पनि भव्यताका साथ मनाए l आफ्नो लोक साँस्कृति जगेर्ना गर्ने हेतुले गोवा नेपाली समाजले सांस्कृतिक कार्यक्रम को आयोजना गरेको थियो।


