सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष टेकेन्द्र मल्लले पदभार
नेपालगञ्ज । सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष टेकेन्द्र मल्लले पदभार सम्हालेका छन् ।
अस्पतालले आज आयोजना गरेको पदभार कार्यक्रममा मल्लले आफू पहिलोपटक अस्पताल प्रवेश गरेको बताउँदै बाँके बर्दियाका जनताले मुठ्ठीदान गरेर आफ्नो गाँस कटाएर अन्न नगद उठाएर स्थापना गरेको यो संस्थालाई कसरी राम्रो गर्न सकिन्छ भनेर दिनरात लागिपर्ने बताए । “अब हाम्रा आमा, दिदीवहिनी, बा, काका दाजुभाई क्यान्सर रोगको उपचार गर्न लाखौंलाख खर्च गरेर चितवन, काठमाण्डौ जानु नपर्ने गरी क्यान्सरको मात्रै विशेषज्ञ अस्पताल बनाउने गरी काम गर्छु,” उनले भने ।
अस्पताललाई यहाँसम्म ल्याउने अग्रजहरुलाई सम्मान गर्दै आगामी दिनमा पनि रचनात्मक सल्लाह सुझावको अपेक्षा आफूले गरेको अध्यक्ष मल्लले बताए । पदभार सम्हाले लगत्तै मल्लको अध्यक्षतामा बसेको अस्पताल विकास समितिको पहिलो वैठकले वृद्धवृद्धाहरुको उपचारमा ५० प्रतिशत छुट र गरिब तथा अशक्त विरामीलाई २ वटा बेड निःशुल्क दिने निर्णय समेत गरेको छ ।


