नेपाल–भारत परराष्ट्र सचिव वार्ता : सीमा समस्याबारे द्विपक्षीय संयन्त्रमा छलफल गर्ने
काठमाडौं । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठकमा दुई देशबीच बाँकी रहेका सीमाका कामलाई द्विपक्षीय संयन्त्रमार्फत टुंग्याउने विषयमा छलफल भएको छ ।
भारतको नयाँ दिल्लीमा मंगलबार सम्पन्न दुई देशका परराष्ट्र सचिवहरूको बैठकले उक्त निर्णय गरेको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । बैठकमा उहाँहरूबीच सीमाका विषयमा छलफल भयो । उहाँहरूले द्विपक्षीय संयन्त्रमार्फत सीमाका बाँकी काम पूरा गर्ने विषयमा विचार आदान–प्रदान गर्नुभयो’, नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा सीमाका बाँकी काम पूरा गर्ने भनिए पनि पछिल्लो समय चर्किएको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र तथा सुस्ताका विषयमा छलफल भएको वा नभएको विषयमा स्पष्ट पारिएको छैन । भारतीय विदेशसचिव विनयमोहन क्वात्राको निमन्त्रणमा परराष्ट्र सचिव भरतराज पौड्याल मंगलबारदेखि भारतको तीन दिने औपचारिक भ्रमणमा छन् । भ्रमणको पहिलो दिन नै दिल्लीस्थित हैदरावाद हाउसमा परराष्ट्र सचिवहरू र प्रतिनिधिमण्डल स्तरीय छुट्टाछुट्टै बैठक बसेको थियो । बैठकमा सीमा, कनेक्टिभिटी, पूर्वाधार विकास, व्यापार, संस्कृति, विद्युत सहकार्य र नागरिकस्तरको सम्बन्धका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । बैठकमा अमलेखगञ्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन र भारतको मोतीहारीदेखि चितवनसम्म एलपी ग्यासको पाइपलाइन तीव्र रुपमा विस्तार गर्ने सहमति भएको छ ।अनलाइन खबर


