थ्री-डी मार्फत युद्ध राेक्न पुटिनलाई आग्रह गरेका माेदीकाे विश्वस्तर मै चर्चा
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकपटक पुनः अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘अहिलेको समयमा युद्ध उचित नभएको’ प्रतिक्रिया जनाएर युद्ध रोक्ने आशयको सन्देश दिएपछि मोदी अन्तर्राष्ट्रियस्तरमा चर्चामा आएका हुन् ।
अहिलेको समय युद्धको होइन, अहिलेको वैश्विक चिन्ता खाद्य सुरक्षा, इन्धन सुरक्षा र मलको विषय हो,’ उज्बेकिस्तानको समरकन्दमा भएको सांघाई सहयोग संगठन (एससीओ) को बैठकका क्रममा शुक्रबार पुटिनसँग भएको साइडलाइन वार्तामा मोदीले भने । पुटिनलाई दिएको उक्त सुझावले मोदी भारतमा मात्रै होइन, अन्तर्राष्ट्रिय मिडियाहरूमा पनि छाएका छन् । बीबीसीका अनुसार सांघाई शिखर सम्मेलनका क्रममा भएको मोदी र पुटिन भेटवार्ता तथा त्यसक्रममा मोदीले दिएको सुझावको सर्वत्र चर्चा पाएको हो । अमेरिकी, रुसी सबैतिरका सञ्चारमाध्यमहरूले दुई नेताबीचको भेटमा मोदीले दिएको सुझावलाई प्राथमिकताका साथ समाचार बनाएका बीबीसीले जनाएको छ ।
शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि उपस्थित थिए । सी र पुटिनबीच पनि भेटवार्ता भएको थियो । त्यहाँ पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफदेखि मध्य एसियाली देश कजाकस्तान, किर्गिस्तान, ताजिकिस्तान र बैठक आयोजक उज्बेकिस्तानका राष्ट्र तथा सरकार प्रमुखहरू सहभागी थिए । तर, चर्चा भने मोदीको भयो । चिनियाँ राष्ट्रपति सी र पाकिस्तानी प्रधानमन्त्री सरिफसँग भने मोदीको छुट्टै भेटवार्ता भने भएन । दुवै देशसँग भारतको सीमाका विषयमा तनाव रहँदै आएको छ ।
गत फेब्रुअरीमा रुसले युक्रेनमाथि गरेको आक्रमणले ७ महिना पुग्नै लागिसकेको भए पनि दुवै देशबीच युद्ध जारी छ । अमेरिकासहित पश्चिमा शक्तिशाली देशहरूले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा मात्रै गरेका छैनन्, रुसमाथि धरै खाले प्रतिबन्धहरू लगाएका छन् । पश्चिमा देशहरूको दबाबसामु पनि भारतले रुससँगको आफ्नो सम्बन्ध यथावत् राखेको छ । युद्धको दौरान पनि भारतले रुससँग सस्तो मूल्यमा इन्धन खरिद गर्दै आएको छ ।
युक्रेनमाथि आक्रमण गरेपछि रुसी राष्ट्रपति पुटिनसँग मोदीको पहिलो भेट सांघाई शिखर सम्मेलनमा भएको हो । त्यस क्रममा उनले पुटिनलाई युद्ध रोक्न दिएको सन्देशले महत्त्वपूर्ण मानिएको छ । मोदीको आग्रहपछि पुटिनले आफू युक्रेनसँगको युद्ध छिटो रोक्न हरेक कदम चाल्न तयार रहेको बताएको समाचार पनि बाहिर आएको छ । तर, युक्रेन वार्ताका लागि तयार नभएकाले समस्या आएको पुटिनको भनाइ छ । उनले भारतीय प्रधानमन्त्री मोदीलाई युक्रेनसँग हुने हरेक ‘डेभलपमेन्ट’ बारे जानकारी गराउने आश्वासनसमेत दिएका छन् । भारतीय मिडियाहरूले मोदी र पुटिनबीचको भेटवार्ता र कुराकानीलाई मुख्य समाचार बनाएका छन् । मोदीले पुटिनसँग ‘थ्री डी’ (डेमोक्रेसी, डिप्लोमेसी र डायलग) को उपायबाट शान्तिको बाटो अपनाउन सुझाव दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
रुसले युक्रेनमाथि आक्रमण सुरु गरेसँगै सहजै जित हासिल गर्ने ठानिएको थियो । तर रुसले सोचेअनुसार सफलता भने पाउन सकेको छैन । पछिल्ला दिनमा युक्रेनले उत्तर–पूर्वी खर्किभ क्षेत्रमा गुमाएको ८ हजार वर्गकिलोमिटर भन्दा धेरै क्षेत्रफल फिर्ता गरिसकेको छ । तर रुसी राष्ट्रपति पुटिनले भने पनि आफ्नो लक्ष्य पूरा नभएसम्म युद्ध नरोक्ने बताउँदै आएका छन् ।
पुटिनले आफू हतारमा नरहेको र युक्रेनको डोन्बास क्षेत्रमा आक्रमण जारी रहने बताएका छन् । युक्रेन युद्धमा रुसले हालसम्म आफ्नो पूर्ण सैन्य शक्ति नखटाएको पुटिनको दाबी छ ।
‘डोन्बासमा हाम्रो कारबाही रोकिएको छैन । हाम्रा सेना अघि बढिरहेका छन् । उनीहरूले क्रमशः धेरै र अधिक क्षेत्र नियन्त्रणमा लिइरहेका छन्,’ पुटिनले भने । युक्रेनविरुद्ध हालसम्म आधिकारिक रूपमा युद्धको घोषणा नगरेको रुसले आफ्नो आक्रमण ‘विशेष सैन्य कारबाही मात्र भएको बताउँदै आएको छ ।


