७ आश्विन २०८३, बुधबार

नागरिकताविहीन जनता सिमकार्ड लिनदेखि हवाई जहाज चढ्न वञ्चित छन् : गृहमन्त्री खाँण

एसीपी संवाददाता

१० आश्विन २०७९, सोमबार २३:५६ मा प्रकाशित

तिलोत्तमा — गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा सुशासनका लागि हरेक नागरिकले अधिकार पाउनुपर्ने बताएका छन् । तर, अहिले नागरिक आफ्नो भूगोलमा अनागरिक हुने सिर्जना भएको उनको भनाइ थियो ।

रिपोर्टस क्लब लुम्बिनी प्रदेशको पाँचौं स्थापना दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले लाखौं नेपाली नागरिकता नपाउँदा उनीहरु विभिन्न सेवाबाट वञ्चित हुनु परेको बताए । नागरिकताविहीन नागरिक मोबाइलको सिमकार्ड लिनदेखि हवाई जहाज चढ्न वञ्चित रहेको उनले उल्लेख गरे । ‘आज नागरिकता नपाएर समस्यामा परेका सयौं व्यक्तिले मलाई प्रश्न गरिरहेका छन्,’ उनले भने, ‘यस्तो हृदयबिदारक अवस्थाको मैले जवाफ दिनु परिरहेको छ ।’ गृहमन्त्री खाँणले संविधान पालना गर्नुपर्ने व्यक्तिबाट संविधान अतिक्रमणमा पर्नु दुखदायी अवस्था भएको बताए ।

यसरी संविधान अतिक्रमण हुन थालेपछि कसरी मुलुकमा सुशासन कायम गर्न सकिन्छ ? उनले प्रश्न गरे । एमाले नेतृत्वको सरकारले जारी गरेको अध्यादेशलाई नै विद्येयकका रुपमा अगाडि बढाएको उनले प्रस्ट्याए । ‘संसद्‌मा छलफलका क्रममा धेरै कुरा संविधान संशोधन गर्नुपर्ने उठे, कति नागरिकता ऐनमा सम्बोधन गर्नुपर्ने उठे,’ उनले भने, ‘त्यसैले संविधानमा हामीले गरेको कुनै पनि नागरिक नागरिकताबाट वन्चित हुने छैन भन्ने प्रतिबद्धता पूरा गर्न विधेयक जारी गरेका हौं ।’

कार्यक्रममा लुम्बिनी प्रदेशको आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले संघीयता कार्यान्वयनमा गठबन्धन सरकारको भूमिका राम्रो हुन नसकेको टिप्पणी गरे । आगामी दिनमा वर्तमान सरकारले यसलाई चिर्न सक्नुपर्ने उनको भनाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x