१ आश्विन २०८३, बिहीबार

कस्मिरका चलचित्र हल १४ वर्षपछि पुनः सञ्चालन

एसीपी संवाददाता

१८ आश्विन २०७९, मंगलवार ०८:४१ मा प्रकाशित

एजेन्सी – भारत प्रशासित कस्मिरमा १४ वर्षपछि चलचित्र हलहरू पुनः सञ्चालन गर्न थालिएको छ।

धेरै ठाउँमा चलचित्र देखाउन मिल्ने एउटा चलचित्र हल शनिबारदेखि सञ्चालनमा आएको छ भने अन्य हलहरू पनि सञ्चालनको तयारीमा रहेको बताइएको छ।

तीन वर्ष अगाडिदेखि भारतको प्रत्यक्ष शासनअन्तर्गत आएको कस्मिरमा अहिले आएर चलचित्र हल खुल्न लागेका हुन्।

धेरै जनधनको क्षति हुने गरी चलेको झन्डै एक दशक लामो युद्धका कारण त्यहाँका चलचित्र व्यवसायीहरू विस्थापित भएकाले चलचित्र हलहरू बन्द भएका थिए।

अहिले चलचित्र देखाउन थालिए पनि दर्शकको संख्या भने अत्यन्त न्यून रहेको व्यवसायीहरूले बताएका छन्। पाँच सय २० सिट रहेको हलमा झन्डै एक दर्जन मात्रै दर्शक रहेको उनीहरूले जानकारी दिएका छन्।

चलचित्र प्रदर्शनीको सुरुवात गत सेप्टेम्बर २० तारिखमा गरिएको थियो। त्यसको उद्घाटन कस्मिरका लागि भारतका उच्च प्रशासक मनोज सिन्हाले गरेका थिए । सो चलचित्र हलको सञ्चालन कस्मिरका व्यवसायीसँग मिलेर भारतीय व्यवसायीले गरेका हुन्।

‘मानिसले अझै पनि चलचित्र हेर्नेतर्फ सोचेको देखिएको छैन, उनीहरू चलचित्रबाट धेरै टाढा पुगेकाले फेरि पहिलेकै अवस्थामा ल्याउन अझै केही समय लाग्न सक्छ, त्यो स्वाभाविक हो,’ एक स्थानीयले भने।

अर्का एक स्थानीयको भनाइ थियो, ‘चलचित्रबारे आमनागरिकको फरक–फरक धारणा पाइन्छ, कतिपयले चलचित्र हेर्नुलाई राम्रो मान्छन् भने कतिपयले गलत मान्दछन्, म भने यसलाई प्रगतिको संकेतका रूपमा लिन्छु ।’

शनिबारको दिवाकालीन र सन्ध्याकालीन प्रदर्शनीमा कुल सिट संख्याको १० प्रतिशतभन्दा कम दर्शक आएको पाइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x