एमालेले दियो महन्तलाई लालिपाप मात्र , उपेन्द्र सङ हात मिलाउने
काठमाडौं । गठबन्धनमा सिट बाँडफाँडले औपचारिकता नपाएको बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच चुनावी तालमेल पनि उस्तै भएको छ । आइतबार र सोमबार बालकोटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच छलफल भएपनि संवाद सार्थक नबनेपछि तालमेल नहुने अवस्थामा पुगेको हो । संवादको क्रममा दुवै पार्टीका अध्यक्ष चुनावी तालमेल नगर्ने निर्णयमा पुगेपनि कहाँ कसरी तालमेल गर्ने भन्ने बारेमा केही निक्र्योल निस्कन नसकेको स्रोतको दावी छ ।
पछिल्लो समय नेकपा एमालेले लोसपासँग चुनावी तालमेलबारे त्यति चासो देखाएको थिएन् । लोसपाले मधेस प्रदेशमा १९ सिट माग गरेको थियो । एमालेले चुनावी तालमेलका लागि चासो नदेखाए पछि सोमबार अन्तिम वार्ता गर्न ठाकुर अध्यक्ष ओली भेट्न बालकोट पुगेपनि ओलीले अल्मल्याएका थिए । अध्यक्ष ओलीसँगको छलफल पछि लोसपा–एमाले गठबन्धनको विषयमा कुनै पनि प्रकृया अघि नबढेको स्रोतको दावी छ ।
टिकट वितरणकै क्रममा एमालेले विभिन्न नेतामार्फत् अन्य दलसँग संवाद गरिरहेको बेला जसपाले पनि अन्य दलसँगको सहकार्यलाई खुला गर्ने भएपछि लोसपाप्रति एमालेको आकर्षण कम भएको हो । एमालेले चुनावी तालमेल, सिट संख्याबारे निर्णय गर्न अझै केही दिन लाग्ने भएकाले त्यसबारेमा बाहिर कुनै पनि धारणा सार्वजनिक गरिएको छैन । गठबन्धनभित्र प्रतिनिधि सभा र प्रदेश सभा सिट भागवण्डामा सहमति नजुटे त्यस्ता पक्षलाई समेत सहभागी गराउने एमालेले योजना बनाएको स्रोतले जनाएको छ ।
अहिलेसम्म गठबन्धनदलभित्र जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टीले सिट बाँटफाँडप्रति चित्त बुझाएका छैनन । एमालेले राजनीतिमा देखिएका यिनै परिदृश्यको विश्लेषण गरेर मात्र दलहरुसँगको तालमेल निर्णय गर्न लागेको हो । राप्रपाका एक पदाधिकारीका अनुसार एमालेसँग चरण चरणमा वार्ता भए पनि अहिलेसम्म निर्णय भइसकेको छैन । समानुपातिक सूची फाइनल गरेपछि मात्रै टुंगो लगाउने तयारी गरेको छ । शुरुमा लोसपासँग सहकार्य गर्ने इच्छा जनाएको एमालेले पछिल्लो पटक त्यति रुची नगर्नुले लोसपाका लागि घातक देखिएको छ ।
गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिने संकेत गरेसँगै सिट बाँडफाँडमा असन्तुष्टि देखिए लगत्तै जसपा र लोसपा मिल्ने आँकलन गरिएको थियो तर जसपाले लोसपासँगको सहकार्यलाई पनि रुची दिएको छैन । सिट बाँडफाँटको विषयलाई लिएर सत्तारूढ गठबन्धनसँग असन्तुष्ट बनेपछि कम्तीमा १५ सिटको दावी गर्दै आएको जसपाले अन्य दलसँग पनि गठबन्धन गर्ने विकल्प खुला राखेपछि यस्तो आँकलन गरिएको थियो ।
पाँच दलीय गठबन्धनको एक घटक जसपा सिट बाँडफाँटमा अन्याय गर्न लागिएको भन्दै असन्तुष्ट बनेको थियो । जसपाका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै सिट बाँडफाँटमा अहिले भइरहेको छलफलप्रति असन्तुष्टि पोखेर बाहिरिने संकेत गरेका थिए । त्यसको लगत्तै जसपाको बैठकले सिट बाँडफाँडमा आफूहरु सन्तुष्ट हुन नसकेको जनाउदै अन्य दलसँगको सहकार्यलाई विकल्प खुला राखेका कारण दुई पक्ष मिल्ने आँकलन गलत सावित हुन थालेको छ । यद्यपि राजनीतिमा सबै विकल्प खुला हुन्छन भन्ने विषय भने कायमै छ ।


