१८ श्रावण २०८३, सोमबार

अर्घाखाँची सिमेन्टले पनि भारतमा निर्यात शुरु गर्याे

एसीपी संवाददाता

१ कार्तिक २०७९, मंगलवार ०८:१३ मा प्रकाशित

सरकारले चालु आर्थिक वर्षको बजेटमा गरेको व्यवस्थानुसार नै उद्योगी तथा व्यवसायीले भारततर्फ सिमेन्ट निर्यात शुरु गरेका छन् ।

यसअघि नै तानसेन सिमेन्ट भारत निर्यात भएको थियो । यसैक्रममा आजदेखि अर्घाखाँची सिमेन्टले आफ्नो उत्पादनको औपचारिक निर्यातको थालनी गरेको छ । रुपन्देहीको मैनहियास्थित कारखानामा एक कार्यक्रमको आयोजना गरी कम्पनीले भारततर्फ पहिलो लटमा एक हजार चार सय बोरा (७० टन) ‘पोर्टल्यान्ड पोजोलान सिमेन्ट’ (पिपिसी) सिमेन्ट निर्यात गरेको हो । कम्पनीका अनुसार भारतको नौतनवा, महाराजगंजस्थित शिभान्स एसोसिएट्सले पहिलोपल्ट अर्घाखाँचीको उत्पादन खरिद गरेको हो ।

“भारतीय बजारतर्फको निकासीमा यो पहिलो कदम हो । सरकारले प्रदान गरेको आठ प्रतिशत अनुदानले यो उपलब्धि सम्भव भएको हो । यसले भारतसँगको व्यापार घाटा कम गर्नमा सहयोग पुग्ने छ”, अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवाल बताउछन् ।
त्यसैगरी अर्घाखाँची सिमेन्टका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष पशुपति मुरारकाले उद्योग सुरु भएदेखि निर्यात गर्ने सपना पूरा भएको बताए “अब मेरो चाहना उद्योगले उत्पादन गर्ने अधिकांश सिमेन्ट भारत निकासी होस् भन्ने हो”, उनले भने ।

मुरारकाका अनुसार भारतका उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाललगायत क्षेत्रमा चुनढुङ्गा खानी छैन । त्यही बजार उपयोग गर्न भारत निर्यात थालिएको हो । यस अवसारलाई नेपालका सम्पूर्ण सिमेन्ट उत्पादकले उपभोग गर्नुपर्नेमा पनि उहाँले जोड दिए। सिमेन्ट निर्यात अझै बढाउन सरकारले भारतबाट कोइला आयात गर्ने वातावरण मिलाइदिनुपर्ने उनको भनाइ छ ।

भारतको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्सले अर्घाखाँची सिमेन्ट लिमिटेडको उत्पादन अर्घाखाँची सिमेन्टलाई गुणस्तर सम्बन्धि इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट (आईएसआई) मार्क दिएपछि नेपालबाट सिमेन्ट निर्यात हुन थालेको हो ।

कम्पनीले ओपीसी, पीपीसी र क्लिंकर निर्यातका लागि आईएसआई मार्क पाइसकेको छ । त्यसअनुसार कम्पनीले आगामी दिनमा आफ्ना ओपिसी र क्लिंकर उत्पादनलाई पनि छिमेकी मुलुकका बजारमा निर्यात गर्ने योजना लिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x