राष्ट्रिय खेलकुद ऐतिहासिक रुपमा सफल : मन्त्री अथक
कात्तिक नेपालगन्ज
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नवौँ राष्ट्रिय
खेलकुद प्रतियोगिता ऐतिहासिक रुपमा सफल भएको बताउनुभएको छ । प्रतियोगिता
समापन समारोहमा सहभागी हुन पोखरा जाने क्रममा बुधबार बिहान
नेपालगन्जस्थित राँझा विमानस्थलमा संचारकर्मीहरुलाई प्रतिक्रिया दिदैं
मन्त्री अथकले प्रतियोगिताको सफल आयोजना आफैमा ऐतिहासीक उपलब्धि भएको
बताउनुभएको हो ।
मन्त्री अथकले कोभिडलगायतका विभिन्न कारणले रोकिएको देशकै सबैभन्दा ठूलो
खेल प्रतियोगिता निर्धारित समयमा नै सञ्चालन गर्न सक्नु ठूलो सफलता भएको
बताउनुभएको हो ।
प्रतियोगिता संचालनमा विभिन्न चुनौती आए पनि ती सबै चुनौतीलाई चिर्दै
मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीहरुको उच्च मनोबल, अथक
प्रयास र परिश्रमले गर्दा ऐतिहासिक रूपमा प्रतियोगिता सम्पन्न हुन
गइरहेको भन्दै उहाँले खुसी ब्यक्त गर्नुभयो ।
प्रतियोगिताकै क्रममा प्याराग्लाइडिङका खेलाडीको दुःखद निधन भएको घटनाले
खेल जगतलाई दुःखी बनाएको बताउँदै उहाँले सरकारले सो घटनाबारे अनुसन्धान
गर्ने बताउनुभयो ।
उहाँले खेल क्षेत्रले देशलाई विश्वमा चिनाउने र पहिचान कायम गर्ने भएकोले
खेलकुदका लागि बजेटमा वृद्धि गर्नु अपरिहार्य बनेको समेत बताउनुभयो ।
पोखरामा सञ्चालन भइरहेको नवौँ राष्ट्रिय प्रतियोगितामा पदक जित्ने र यस
पटक जित्न नसकेका सबैलाई अग्रिम बधाई दिँदै उहाँले कम समयमा खेलकुदको
समग्र विकासमा आफुले धेरै उल्लेख्य काम गरेको उल्लेख गर्नुभयो ।


