१७ कार्तिक २०८३, सोमबार

कञ्चनपुर २ मा यसकारण ढुक्क छन् एनपी साउद

एसीपी संवाददाता

१५ कार्तिक २०७९, मंगलवार १४:४५ मा प्रकाशित

 कञ्चनपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका नारायणप्रकाश (एनपी) साउद र नेकपा (एमाले) का नरबहादुर धामीबीचमा नै प्रतिस्पर्धा हुने भएको छ ।

लोकतान्त्रिक–वाम गठबन्धनबाट चुनावमा प्रतिस्पर्धा गरिरहेका भएका साउद र एमालेबाट उम्मेदवार रहेका धामीबीच तेस्रो पटक चुनावी प्रतिस्पर्धा भइरहेको छ ।

गठबन्धन भएका कारण चुनावी प्रतिस्पर्धामा विजयी हुनेमा साउद ढुक्क छन् । उनले विकास निर्माणका कुरालाई चुनावी मुद्दाका रूपमा अघि सारेका छन्। चुनावी प्रचारका क्रममा उनी आफूले सांसद नभएर पनि गरेको विकासका चर्चा सुनाउन पछि पर्दैनन्। उनले सिँचाइमन्त्री भएर कार्य गरिसकेका छन् ।

‘विगतका निर्वाचनमा एमाले र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन हुँदा २४ हजार बढी मत ल्याएर पनि जित्न सकेनौँ’, उनले भने, ‘यसपटक गठबन्धन भएकाले माओवादी केन्द्रको मत जुटे जित सम्भव छ ।’ दुवै पार्टीबीचका विगतका कटुताका कुरा इतिहास भइसकेकाले गठबन्धनको मर्मअनुसार मत पाउनेमा उहाँ विश्वस्त छन् ।

एमालेका पाँच वर्षअघि चुनावमा विजयी भएका उम्मेदवारले विकासका नाममा सिन्कोसमेत भाँच्न नसकेको उनको आरोप छ । ‘पाँच वर्षअघि मैले सुरु गरेका योजनासमेत पूरा हुन सकेका छैनन्’, उनले भने, ‘सांसद नभएर पनि तटबन्ध निर्माणका लागि रु १० करोडका योजना चालु आवमै ल्याएको छु ।’

जनताले पत्याउने गरी काम गरिरहेको उनको भनाइ छ । साउद र धामी विद्यार्थी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेर पहिचान बनाउन सफल भएका हुन् । दुवै जना यस निर्वाचन क्षेत्रका सशक्त प्रतिस्पर्धीका रूपमा छन् ।

एमालेका तर्फबाट चुनावी मैदानमा रहेका धामीले शुक्लाफाँटा प्राविधिक शिक्षालय स्थापना, सडक कालोपत्रे, तटबन्ध निर्माणलगायतका विकासका मुद्दालाई चुनावी सभामा सुनाउँदै आएका छन् । प्राविधिक शिक्षालयका भौतिक संरचना निर्माण गर्नका लागि रु पाँच करोड ५० लाख बजेट विनियोजन भएको र । प्राविधिकतर्फका विभिन्न विधामा पढाइ गराउने गरी कार्य गरेकाले यसकै आधारमा मत पाउने उनको तर्क छ । जनताको बीचमै रहेर कार्य गर्दै आएकाले गत चुनावको नतिजा दोहोर्‍याउने उनी दाबी गर्छन् ।

विसं २०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा धामीले ३३ हजार दुई सय २० मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी साउदले २४ हजार आठ सय ३९ मत ल्याएर पराजय भोग्नुपरेको थियो । विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा साउदले धामीलाई पराजित गरेका थिए । यस निर्वाचन क्षेत्रमा तीनवटा नगरपालिका ३० वडा पर्दछन् । निर्वाचन क्षेत्रमा पहाडी र थारु समुदायको बसोबास छ ।

दुवै उम्मेदवार पहाडी मूलका भएकाले पहाडी समुदायको मत विभाजन हुने देखिएको छ । थारु मत निर्वाचनमा निर्णायक देखिएको छ । थारु समुदायलाई निर्वाचनमा आफ्नो पक्षमा पार्नका लागि उम्मेदवारले आकर्षक चुनावी एजेण्डा अघि सारेर चुनावी प्रचारमा जुटेका छन् ।

स्थानीय तह निर्वाचनको परिणामलाई हेर्दा तीनवटै पालिकामा कांग्रेसले २२ हजार चार सय ९९, एमालेले १९ हजार दुई सय ९२, माओवादी केन्द्रले १३ हजार चार सय ७८, नेकपा (एकीकृत समाजवादी) ले चार हजार छ सय ६७, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन हजार सात सय ४६ मत ल्याएका थिए । सत्तारुढ गठबन्धन कांग्रेस, माओवादी, समाजवादीले ५२ हजार दुई सय १२ र एमाले सम्मिलित गठबन्धनले २१ हजार दुई सय ४२ मत ल्याएका थिए ।

स्थानीय तहको मत परिणामलाई नियाल्दा केही मत तलमाथि भए पनि लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार सहज रूपमा विजयी हुने कांग्रेस निर्वाचन क्षेत्र नं २ का सभापति लालबहादुर सिंह बताउँछन् । निर्वाचन क्षेत्र नं २ मा एक लाख पाँच हजार पाँच सय ५७ मतदाता र एक सय १८ मतदान केन्द्र छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x