खुला जेल’ कथा संग्रह प्रकाशनमा
अमेरिका । अमेरिकामा रहेर नेपाली साहित्यिक कृति सिर्जना गरिरहेकी साहित्यकार लक्ष्मी श्रेष्ठले आफ्नो चौथो कृति ‘खुला जेल’ कथा संग्रह प्रकाशनमा ल्याएकी छन ।
उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), न्युयोर्क च्याप्टरको उपाध्यक्ष समेत हुन । साहित्यकार लक्ष्मीको उक्त कथा संग्रहको लोकार्पण अमेरिकाको न्युयोर्क स्थित क्वीन्स पब्लिक लाइब्रेरीमा सम्पन्न भएको हो ।
अनेसास न्युयोर्क च्याप्टरका महासचिव साहित्यकार जानुका वस्ती ढकालको स्वागत मन्तव्यबाट सुरू भएको उक्त कार्यक्रममा साहित्यकार गीता खत्रीले पानसमा बत्ती बालेकी थिइन भने गायक अभय ढुंगेलले नेपाली राष्ट्रिय गीत र स्रष्टाकै छोरी मिली श्रेष्ठले अमेरिकन राष्ट्रिय गीत गाएका थिए ।
साहित्यकार समीक्षक रश्मि भट्टले कथा संग्रहको समीक्षा गर्दै अमेरिका र अमेरिकन पृष्ठभूमिलाई आधार बनाएर लेखिएका कथाहरू ज्ञानबर्द्धक हुनुका साथै सूचनामुलक पनि रहेको बताए । उनले कथाकारले आफ्नो साहित्ययात्रामा एउटा नौलो फड्को मारेको उल्लेख गरेका छन ।
लोकार्पण समारोहमा शुभकामना दिंदै नेपाल मुक्तक प्रतिष्ठान अमेरिका शाखाका अध्यक्ष गजलकार आनन्द श्रेष्ठले एनआरएनए सँग सहकार्य गर्न अनेसासले मुख्य भूमिका निर्वाह गर्नु पर्छ र च्याप्टरका सदस्यहरूले लेखिएका पुस्तक विश्वमा छरिएका अनेसासका प्रत्येक च्याप्टरले १०-१० प्रति किन्ने व्यवस्था मिलाएमा लेखकलाई धेरै राहत मिल्नुको साथै एक आपसमा च्याप्टरलाई भाइचाराको सम्बन्ध पनि बढ्न सक्ने बताए ।
यस्तै केन्द्रीय उपाध्यक्ष साहित्यकार राजेन्द्र श्रेष्ठले सबैसँग सहकार्य गरेर अगाडि बढ्न सक्यौं र स्वस्फूर्त नेपाली साहित्यलाई माया गर्न सकियो भने नेपाली साहित्यको जगेर्ना हुन सक्छ भन्दै सर्जकलाई बधाई र शुभकामना दिए । अनेसास बोर्ड अफ ट्रष्टीजका अध्यक्ष गीता खत्रीले कथाकारको कथा पढ्दा एक किसिमको डाहा लागेको कुरा पनि आफ्नो वक्तव्यमा उल्लेख गरेका थिए ।
तारा-किसन फ़ाउण्डेशन का संस्थापक कवि किशनसिंह धामीले विगत ३ वर्षदेखि वर्षैपिच्छे कृतिहरु एकपछि अर्को गर्दै पाठकहरु माझ ल्याउन सकेकोमा कथाकार लक्ष्मीलाई बधाई दिइन ।
स्रष्टालाई शुभकामना दिने क्रममा न्युयोर्क सिटी मेयरका सल्लाहकार तथा समाजसेवी नवराज केसी, एनआरएनए न्युयोर्क च्याप्टरका सचिव तथा गोर्खा समाजका सकृय कार्यकर्ता वसु लामिछाने, न्युयोर्कबाट सञ्चालित सरल नेपाली भाषा केन्द्रकी अध्यक्ष साहित्यकार पद्मा लिंखा मगर, अनेसास न्युयोर्क च्याप्टरका सचिव साहित्यकार नदिया लिबाङ तथा मिली श्रेष्ठले बधाई तथा शुभकामना व्यक्त गरे ।
क्वीन्स लाईब्रेरीको शान्त सुमधुर वातावरणमा सम्पन्न भएको लोकार्पण कार्यक्रम अनेसास केन्द्रीय सदस्य साहित्यकार शकुन ज्ञवालीले संचालन गरेका थिए भने उपस्थित सम्पूणर् अतिथिहरुलाई धन्यवाद साथै आभार व्यक्त गर्दै सभाका सभापति साहित्यकार राजन महर्जनले विमोचित कथासंग्रहले नेपाली साहित्यमा राम्रै स्थान हासिल गर्ने विचार व्यक्त गरेका थिए ।


