इजरायली फिल्म प्रोड्युसर तथा चिफ ‘जुरी’ नदाव लैपिडले फिल्म फेस्टिभलमा देखाउनबाट रोक लगाएका थिए । उनले फिल्म फेस्टिभल समारोहको मञ्चबाट ‘कश्मीर फाइल्स’ प्रोपागान्डा र भद्दा भनेका थिए । ‘डेब्यु कम्पिटिसिनमा ७ र इन्टरनेसनल कम्पिटिसनमा सहभागी १५ मध्ये १४ फिल्म गुणस्तरीय भए पनि ‘कश्मीर फाइल्स’ ले हामी सबैलाई विचलित बनायो,’ उनले भनेका छन्, ‘यो प्रोपागान्डाले भरिएको भद्दा फिल्म फेस्टिभलमा प्रतिस्पर्धाका लागि अयोग्य थियो ।’
भारतमै भइरहेको समारोहमा सूचना तथा प्रसारणमन्त्री अनुराग ठाकुरकै अगाडि लैपिडले दिएको बयानले उनलाई मात्रै होइन, भारतस्थित इजरायली दूतवासलाई पनि समस्यामा पारेको छ । फिल्मका समर्थकहरूले सामाजिक सञ्जालमार्फत लैपिडको मात्र नभई इजरायलकै विरोध गर्न थालेका छन् । भारतका लागि इजरायली राजदूत नओर गिलोनमाथि पनि धम्की दिन थालिएको छ । ट्वीटरको म्यासेजमा प्राप्त धम्की सार्वजनिक गर्दै उनले आफूलाई भारत छोड्न धम्की आएको उल्लेख गरेका छन् ।
तर राजदूत गिलोनले इजरायली फिल्म प्रोड्युसर तथा प्रमुख जुरी लैपिडको बयानप्रति भने असन्तुष्टि व्यक्त गरेका थिए । उनले ट्वीटरमै खुला पत्र लेखेर भारतले गरेको आतिथ्यता र मित्रताको विपरीत लैपिडले दिएको बयानप्रति आफू लज्जित रहेको र माफी मागेको उल्लेख गरेका थिए । विवाद बढेपछि फिल्म प्रोड्युसर लैपिड स्वयंले पनि आफ्नो बयानले कश्मीरी पीडित वा पीडितको अपमान गर्नु नरहेको भन्दै उनीहरूलाई पुगेको ठेसप्रति माफी मागेका छन् । तर, आफ्नो बयानप्रतिको अडानमा भने उनी कायम देखिएका छन् । उनले ‘प्रोपोगान्डा’ ले भरिएकै कारण कश्मीर फाइल्सलाई अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित प्रतिस्पर्धात्मक सेक्सनमा प्रदर्शन गर्नु सही नभएको आफ्नो निष्कर्षलाई दोहोर्याएका छन् ।


