सिक्किममा गुन्जिए यश कुमार

सिक्किम — नेपाली गायक तथा अभिनेता यशकुमार भारतको हिमाली राज्य सिक्किमको पश्चिमी भूभाग बर्मेकमा गुन्जिए । यो भेगमा पहिलो पटक आयोजित ‘दसक सांस्कृतिक महा–उत्सव’ मा यश कुमारले आधा दर्जन बढी आफ्ना नयाँपुराना सिर्जना सुनाए ।
संगीत करिअरकै पहिलो प्रस्तुती सिक्किमबाटै सुरु गरेका यश कुमारले बर्मेकका स्थानीय दलित समुदायका युवाहरुको आह्वानमा आयोजित उत्सवमा पहिलो पटक प्रस्तुती दिएका थिए । ‘सिक्किमबाटै मैले पहिलो पटक माइक समातेर गीत पाउन सिकेको हो’, यश कुमारले सयौ फ्यानमाझ भने,‘बर्मेकमा पनि मेरो पहिलो प्रस्तुती नै हो ।’
उनले चर्चित गीतहरु विरानो यो मन्दिरमा…, मैले छोएको पानी चल्दैन…, तिमीलाई कुनै पल…, लगायत गीत सुनाए । बाबु बोगटीको ‘तुल्सी आँगनमा रोपौँला… मा उनलाई सिक्किमे गायकहरु रवि गहतराज, नवीन गजमेर, डुवर्सका विक्की परियार र उद्घोषक राजेश घतानीले साथ दिए । यशले गीत सुनाइरहदा स्थानीय श्रीजंगा सरकारी पाठशालाको मैदानमा उपस्थित सयौं दर्शक उनीसँगै झुमेका थिए ।
अन्य जातजातिहरुको झैं दलित (अनुसूचित जाति) समुदायको छुट्टै चाडपर्व छैन । त्यही भएर यो वर्षदेखि ‘दसक सांस्कृति महा–उत्सव’ को सुरुआत गरिएको उत्सव आयोजक समितिका कार्यकारी प्रमुख शेखर सेवाले जनाए । ‘चाडपर्वको रुपमा र हाम्रा सांस्कृति धरोहरहरुको संरक्षण खातिर कार्यक्रम थालनी गरेका हौ’, सेवाले भने । ईकान्तिपुर