४ असार २०८३, बिहीबार

टीकापुर घटनामा सजाय भोगिरहेकालाई जेलमुक्त गराएरै छाड्छु : मन्त्री मोदी

एसीपी संवाददाता

२१ माघ २०७९, शनिबार ०९:४० मा प्रकाशित

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले टीकापुर घटनामा पक्राउ परि जेल सजाय भोगिरहेका थारु नेतालाई जेलमुक्त गराएरै छाड्ने प्रतिबद्धता जनाएका छन्।

अधिकारका लागि भएका आन्दोलनमा पक्राउ परी मुद्धा खेपिरहेका र जेल जिवन विताइरहेका थारुहरुको मुद्धा फिर्ता गराउन हरसम्भवको प्रयास गरिरहेको मन्त्री मोदीले बताए।

‘टीकापुर घटनामा अदालतबाट दोषी करार भइ जेल सजाय भोगिरहेकालाई जेलमुक्त बनाउन म प्रतिबद्ध छु। म धेरै बोल्दैन। यसको परिणाम तपाईंहरुले केही समयपछि पाउनुहुने छ,’ मन्त्री मोदीले भने।

राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरमा आयोजित ‘सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलनको उद्घाटन गर्दै मन्त्री मोदीले अधिकार प्राप्तिका लागि भएका विभिन्न आन्दोलनलेसमेट्न नसकेपछि थारु समुदायले अधिकारका लागि समय–समयमा विद्रोह गरेको बताए।

‘२०१७, ०३६, ०४६, ०५२ र ०६२–६३ को जनआन्दोलन र परिवर्तनले समेत थारु समुदायको अधिकारी स्थापित गर्न सकेन। थारु समुदायलाई राज्यले नै विद्रोह गर्न बाध्य पार्दै आएको छ,’ उनले भने।

अधिकार प्राप्त भइनसकेकोले राजनीतिक र सांस्कतिक अधिकारका लागि संघर्ष गर्नुपर्ने उनको भनाइ थियो। राजनीतिक अधिकारसँगै सांस्कृतिक अधिकारका लागि थारु समुदाय उठ्नुपर्ने बेला भएको उनले बताए।

संविधानमा थारु कलस्टरको ब्यवस्था गरि पहिचान स्थापित गराएको बताउँदै उनले राष्ट्रिय निजामति सेवा ऐन ल्याएर थारुलाई थप अधिकार सम्पन्न बनाउने योजना रहेको उनले स्पष्ट पारे।

‘राष्ट्रिय निजामती सेवा ऐनमा थारु समुदायका लागि विशेष व्यवस्था गरी थारु समुदायलाई राज्यको हरेक निकायमा पुर्याउने योजनाका साथ म र मेरो मन्त्रालय लागेको छ,’ उनले भने।

मन्त्री मोदीले थारु समुदाय संस्कृतिको धनी भए पनि दस्तावेजीकरण गर्न नसक्दा ओझेलमा परेको धारणा राखे। उनले प्रगतिशिल साहित्यमा कलम चलाउन थारु साहित्यकारहरुलाई सुझाव दिए।

‘थारु समुदायमा भएका विकृति, विसंगति अन्त्यका लागि साहित्यकारको कलम चलोस्। साहित्यले थारु समुदायलाई समृद्ध बनाउने भूमिका निर्वाह गर्न कोषे ढुंगा सावित होवस्,’ उनले भने।

उनले थारु समुदायको पहिचान र संस्कृति संरक्षणका लागि तराई समृद्धि कार्यक्रम अन्तरगत राप्तीसोनारी गाउँपालिकामा थारु संग्रहालय स्थापनाका लागि बजेट उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए। थारु संग्रहालय स्थापनाका लागि उनले गाउँपालिकालाई योजनासहित रकम माग गर्न आग्रह गरे।

२०–२२ माघसम्म चल्ने सम्मेलनमा पश्चिम महाकालिदेखि पूर्वमेचीसम्मका थारु साहित्यकार सहभागी भएको आयोजक थारु लेखक संघका केन्द्रिय सदस्य शेखर दहितले जानकारी दिए।

सम्मेलनमा वर्तमान राजनीतिक अवस्था, बरघर प्रथा, थारु, समृद्ध राप्तीसोनारीलगायत विषयमा समेत चर्चा हुने स्थानीय आयोजक थारु गोचाली समाजका अध्यक्ष देखलाल थारुले जानकारी दिए। उद्घाटन कार्यक्रममा थारु समुदायमा प्रचलित नाँच समेत प्रदर्शन गरिएको थियो। नयाँ पत्रीका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x