१७ श्रावण २०८३, आईतवार

अनलाइन व्यापार गर्ने नाममा नेपालमा बसेर नेपालीलाई ठगी गर्ने चिनियाँ नेतृत्वको गिरोह पक्राउ

एसीपी संवाददाता

१६ चैत्र २०७९, बिहीबार २०:०३ मा प्रकाशित

अनलाइन व्यापार गर्ने नाममा नेपालमा बसेर नेपालीलाई ठगी गर्ने चिनियाँ नेतृत्वको गिरोह पक्राउ परेको छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले १० नेपाली र ९ जना चिनियाँलाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने नेपालीमा ५ जना महिला र ५ जना पुरुष रहेका छन् । अनलाइन व्यपारमा लगानी गरेबापत ३० प्रतिशत कमिसन पाउने लोभमा गिरोहले एकै व्यक्तिलाई ४८ लाख रूपैयाँसम्म ठगेको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले जानकारी दिए । अनलाइन व्यापारको नाममा सामान खरिद गर्न लगाएर सामान बिक्री भएजस्तो गरेर सुरूसुरूमा कमिसन पनि पठाउने रहेछन् । तर, लगानी बढ्दै जाँदा कमिसन बन्द भएपछि पीडित आफू ठगिएको थाहा पाउने अवस्था देखियो’, एसएसपी केसीले भने ।

उनका अनुसार केही समयअघि एक व्यक्ति अनलाइन व्यापार ४८ लाख रूपैयाँ ठगीमा परेको भएको भन्दै उजुरी लिएर आएका थिए । ५० हजार रूपैयाँबाट लगानी सुरू गरेका ती व्यक्तिले सुरूसुरूमा कमिसन खुरुखुरु पाएपछि ४८ लाख रूपैयाँ लगानी भइसकेको पत्तै नपाएको प्रहरीलाई सुनाएका थिए । त्यसपछि अनुसन्धानका क्रममा उनलाई ठगी गर्ने गिरोह भेटिएको प्रहरीको भनाई छ । प्रहरीले ती पीडितले रकम जम्मा गरेका चारवटा बैंक खाताबाट अनुसन्धान गरेको थियो । ‘ती चारवटा खातामा डेढ महिनाको अन्तरमा एक करोड ६४ लाख रूपैयाँभन्दा बढीको कारोबार देखिन्छ । २०/२२ जनाले उनीहरूको खातामा पैसा जम्मा गरेको देखिएकाले पीडितको संख्या ठूलो भएको हुन सक्ने हाम्रो अनुमान छ’, एसएसपी केसीले भने ।

प्रहरीका अनुसार ९ जना चिनियाँले काठमाडौंको विभिन्न तीन ठाउँमा कार्यालय खोलेर ठगी गर्ने गरेका थिए । उनिहरूले एक वेबसाइटको लिंक ह्वाट्सअपमा विभिन्न व्यक्तिलाई पठाएर अनलाइन व्यापारमा लगानी गरे तुरुन्तै ३० प्रतिशत मुनाफा पाइने भन्दै काउन्सेलिङ गर्ने गरेका थिए । इच्छुकलाई उनीहरूलाई कसरी व्यापार गर्ने भनेर सिकाउन लिंकसमेत पठाउने गरेको र त्यस लिंक खोलेर हेर्दा सिकाइने पनि गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

‘सामान खरिदका लागि पैसा बुझाएको, किनेको सामान खरिद भएको, खरिद गर्नेले बुझेको, कमिसन प्राप्त भएको सबै कुरा वेबसाइटमा देखाएर गिरोहले प्रलोभनमा पार्ने गरेको देखियो’, केसीले भने, ‘धेरै रकम लगानी भएपछि सफ्टवेयरमा प्रहरी छिरेर घटनाबारे आफूलाई थाहा भएको जसरी थर्काउने गरेको पाइयो । त्यसपछि डिपोजिट गरेको रकम र कमिसन दुवै गुमेको अवस्था पीडितले थाहा पाएका रहेछन्’, एसएसपी केसीले जानकारी गराए । चिनियाँ गिरोहले एक नेपाली व्यक्तिलाई सम्पर्क गरेर विभिन्न व्यक्तीको नाममा नेपाली खाता बनाउन लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘खाता खोले मासिक १० हजार रूपैयाँ पाइने भनेर प्रलोभन देखाइने रहेछ । मासिक १० हजार रूपैयाँ पाइने लोभमा नेपालीले अनलाइन बैंकिङको युजरनेम र पासवर्डसमेत गिरोहलाई बुझाएको देखियो । कतिपय अवस्थामा सम्बन्धित खातावालाले नै पैसा निकालेर आफूलाई खाता खोल्न लगाउने नेपालीलाई बुझाउने गरेको पाइएको छ’, एसएसपी केसीले भने ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x