१७ श्रावण २०८३, आईतवार

खेतान समूहले पायो नेपालमै रेडबुल उत्पादन गर्ने अनुमति

एसीपी संवाददाता

१९ चैत्र २०७९, आईतवार १४:५९ मा प्रकाशित

काठमाडौं –   केही वर्षयता नेपाली बजारमा नदेखिएको इनर्जी ड्रिंक्स रेडबुल फेरि आउने भएको छ।

व्यापारिक घराना खेतान समूहले रेडबुल नेपालमै उत्पादन गर्ने भएको हो।

उक्त समूहले थाइल्यान्डको रेडबुल कम्पनीसँग सम्झौता गरी सरस बेभरेज प्रालि नामक उद्योग नेपालमा दर्ता गरेको छ। अब यही उद्योगबाट रेडबुल उत्पादन हुनेछ।

रेडबुलको ट्रेडमार्क प्रयोग गरी नेपालमै उत्पादन गर्न समूहलाई उद्योग विभागले लाइसेन्स दिएको हो। खेतान समूहको अंशबण्डा भइसकेको छ। यसको उत्पादन भने राजेन्द्र खेतानका भाइ प्रेमप्रकाश खेतानले गर्नलागेका हुन्।

विदेशी ब्राण्ड नेपालमा उत्पादन गर्दा प्रविधि हस्तान्तरण ऐनअनुसार रोयल्टी वा लाभांश दिनुपर्ने हुन्छ। अहिले खेतान समूहले भने रोयल्टी बुझाउने निर्णय गरेको छ।

ऐनअनुसार बनेको नियमावलीले रोयल्टी बुझाउँदा ५ प्रतिशत नाफाबापतको १५ प्रतिशत लाभांश दिनुपर्ने व्यवस्था गरेको छ। यसअनुसार ५ प्रतिशत रोयल्टी दिने गरी खेतान समूह अघि बढेको छ।

हाल रेडबुलको आयात गर्न पाइँदैन। युवराज खतिवडा अर्थमन्त्री रहँदा सबै प्रकारका इनर्जी ड्रिंक्सलाई नेपालमा आयात प्रतिबन्ध गरेका थिए।

प्रतिबन्धको सबैभन्दा ठूलो मार रेडबुललाई परेको थियो। किनकि रेडबुल नेपाली बजारमा निकै लोकप्रिय पेयपदार्थ थियो। अहिले नेपाली बजारमा रेडबुलजस्तै देखिने इनर्जी ड्रिंक्सहरु बिक्रीवितरण भइरहेका छन्।

धादिङमा उत्पादन, २ अर्ब लगानी 
खेतान समूहका अनुसार सरस बेभरेजको प्लान्ट धादिङको धुनिबेसीमा स्थापना भइसकेको छ।

वार्षिक १० हजार किलोलिटर जुस उत्पादन गर्ने लक्ष्य लिएको उद्योगमा २ अर्ब लगानी गर्ने गरी काम भइरहेको छ। उद्योग विभागमा बुझाएको विवरणअनुसार यो उद्योगले १ सय ८० जनालाई रोजगारी दिनेछ।

कम्पनीले अहिले एक सूचना जारी गर्दै कामदार समेत माग गरेको छ। १३ पदको लागि १ सय जनाभन्दा बढी कामदार माग गरेको छ। उत्पादन तथा मार्केटिङ क्षेत्रमा काम गर्ने कामदारको माग यस कम्पनीले गरिसकेको छ।

यसकारण खेतान समूहले नै पायो लाइसेन्स 
आयात प्रतिबन्धसँगै नेपालमै यसको उत्पादन गर्न धेरै ठूला घरानाहरु उत्सुक थिए। विशाल ग्रुप र चौधरी ग्रुपले पनि यसमा लगानी गर्ने इच्छा व्यक्त गरेका थिए।

तर यी दुई ग्रुपलाई पाखा लगाउँदै खेतान समूहले रेडबुल उत्पादनको अनुमति पाएको हो। उद्योग विभागका एक अधिकारीका अनुसार रेडबुलको ट्रेडमार्कको लागि विशाल ग्रुप र चौधरी ग्रुपले समेत आवेदन दिएका थिए।

तर यसअघि पनि खेतान ग्रुपले नै कारोबार गरिरहेको तथा थाइल्यान्डको कम्पनीसँग सम्झौता गरेको आधारमा उद्योग विभागले उसैलाई दिएको हो।

विशाल ग्रुपको साउथ एसियन बेभरेज प्रालि र चौधरी ग्रुपको सीजी ब्रुअरीले समेत लाइसेन्सको लागि आवेदन दिएका थिए। सीजी ब्रुअरीले अहिले पनि मुस्ताङ र स्पिड नामक इनर्जी ड्रिंक्स उत्पादन गर्दै आएको छ।

त्यस्तै विशाल ग्रुपको साउथ एसियन बेभरेजले फ्रूटी, एपी, एपी फिज नामक जुस उत्त्पादन गरिरहेको छ। नेपालखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x