३१ भाद्र २०८३, बुधबार

नेपाल – भारत सम्बन्धलाई बलियो बनाउछ साहित्य संस्कृती

एसीपी संवाददाता

२१ चैत्र २०७९, मंगलवार ०८:१३ मा प्रकाशित

नेपालगन्ज — नेपाल भारतमा भाषा, संस्कृतिमा समानता रहेको भन्दै त्यसको प्रवर्द्धन साहित्यमार्फत हुने भएकोले पुस्तक र लेख रचना अनुवाद हुनु आवश्यक रहेको दुई देशका साहित्यकर्मीले बताएका छन् । नेपालगन्जमा आयोजित नेपाल–भारत साहित्य गोष्ठमा सहभागि साहित्यकर्मीले उक्त कुरा बताएका हुन् ।

महेन्द्र पुस्तकालयको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा आयोजित गोष्ठीमा नेपाल र भारतका साहित्यकारहरुबीच दुई देशका साझा सांस्कृतिक सम्बन्धका विषयमा छलफल एवं साहित्य पाठ भएको छ ।

शनिबार सुरु भई आइतबार सम्पन्न गोष्ठीमा नेपाल र भारतका साझा भाषा, संस्कृति, अवधी भाषा, साहित्य अनुवादका विषयमा साहित्यकार एवं विद्वानहरु सनत रेग्मी, आराध्य शुक्ला, द्वारिकानाथ पाण्डे, गोपाल अश्क, डा. रामबहादुर मिश्र र हंसावती कुर्मीले छुट्टाछुट्टै गोष्ठीपत्र प्रस्तुत गरेका थिए।

साथै कार्यक्रममा नेपाल र भारतका गरी करिब तीन दर्जन स्रष्टाहरुले कविता, कथा, गीत, गजल लगायतका रचना वाचन पनि गरेका थिए । भाषा आयोगका सदस्य डा. अमर गिरिले उद्घाटन गरेको कार्यक्रममा भाषा आयोगका सदस्य गोपाल अश्क, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य हंसावती कुर्मी, प्राज्ञ सभा सदस्यद्वय महानन्द ढकाल र शशीराम कार्कीको सहभागिता रहेको थियो । यसैगरी भारतबाट साहित्यकारहरु रजनीकान्त वशिष्ठ, डा. रामबहादुर मिश्र, मनिषा खटाटेसहित १७ जनाको सहभागिता थियो ।

कार्यक्रममा २० जना साहित्यकारहरुलाई सम्मान पनि गरिएको छ । सम्मानित हुनेहरुमा भाषा आयोगका सदस्य डा. गिरि, साहित्यकार अश्क, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य कुर्मी, भारतीय साहित्यकारहरु रजनीकान्त वशिष्ठ, डा. रामबहादुर मिश्र, आराध्या शुक्ला, नुतन वशिष्ठ, पुनिता अवस्थी, अनुपमा शरद, अनमोल मिश्र, जय सिंह, ममता शुक्ला रहेका छन् । यसैगरि, अमिता पाण्डे, नवनित मिश्रा, स्नेहलता, प्रतिप सारंग, राजेन्द्र वर्मा, अलङ्कार रस्तोगी, द्वारिकानाथ पाण्डे र मनिषा खटाटेलाई पनि सम्मान पत्रसहित सम्मान गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. गिरिले नेपाल र भारतका साहित्यकारहरुको संगाष्ठीले नेपाल भारतका साझा भाषा र संस्कृतिको प्रवर्द्धन र विकासमा भूमिका खेल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै भारतीय साहित्यकारहरुले नेपाल भारतको नागरिक–नागरिकबीचको सम्बन्धलाई साहित्य र साास्कृतिक गतिविधिले झन् प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

भारतीय साहित्यकारहरुलाई बाँके बर्दियाका पर्यटकीयस्थल दर्शन गराएर सोमबार बिदा गरिने पुस्तकालयका अध्यक्ष बलराम यादवले जानकारी दिए । करिब दुई दशक बन्द रहेको पुस्तकालयमा केही महिनाअघि निर्वाचित नयाँ कार्यसमितिले पुस्तकालयलाई पुनः व्यवस्थित गर्नुका साथै साहित्यिक र प्राज्ञिक क्रियाकलपापहरु सुरु गरेको हो । ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x