जब उपप्रधानमन्त्री खड्काले गृहजिल्ला पुगेर माटोलाई ढोगे
काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत पुगेका पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओलर्ने बित्तिकै माटोलाई ढोगेका छन् ।
गृहजिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री भएपछि खड्का शनिबार सुर्खेत पुगेका छन् ।खड्कालाई स्वागत गर्नका लागि सुर्खेत विमानस्थलमा सरकारी कर्मचारीहरू र कांग्रेस कार्यकर्ता थियो ।
सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले कर्णाली र सुर्खेती जनताको शिर निहुरिने गरेर कुनै पनि कामहरु आफूबाट नहुने बताए ।
‘म अहिले जहाँ छु, कर्णालीको जनप्रतिनिधिको रुपमा छु, मैले जिम्मेवारी सम्हाल्दा, सम्पन्न गरेर जिम्मेवारी विसाउने बेलाको भोलिपल्टदेखि कर्णालीका जनताले हाम्रो शिर निहुरिने काम गरेनन्, कर्म गरेनन्, शिर ठाडो गर्ने गरी काम गर्यो भन्ने जस प्राप्त गर्न सकुँ,’ खड्काले भने, ‘त्यहीँ ताकत, आर्शीवाद र शुभकामना कर्णालीको माटोसँग माग्नका लागि कर्णालीको धर्ती ढोगें ।’ अनलाइनखबर
यसैबीच एमालेसँगको अप्राकृतिक गठबन्धन भत्काएर प्राकृतिक गठबन्धन बनाउन सफल भएको बताउँदै मन्त्री खड्काले अब छिट्टै केन्द्र तथा प्रदेशको सरकारले पूर्णता पाउने बताउनुभयो । “संसद् विघटनलाई वैधानिक दिने प्रयत्न एमालेका पार्टी अध्यक्ष केपी ओलीले संसद्मा आफ्नो अभिव्यक्तमार्फत घोषणा गर्नुभयो र संवैधानिक परिपाटीलाई चुनौती दिनुभयो”, उहाँले भन्नुभयो ।
यस्तै खड्काले चुनावमा गरेका प्रतिबद्धता र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासामु गरेको प्रतिबद्धताअनुसार कर्णालीमा पर्याप्त बजेट उपलब्ध गराउने बताउनुभयो । साथै कर्णाली राजमार्गलाई आगामी बजेटमा राष्ट्रिय गौरवको आयोजनामा समेट्ने बताउनुभयो । कर्णाली सरकारले कर्णाली करिडोर सडकको सुरुङ मार्गसहितको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरिसकेको जानकारी दिनुभयो ।
“मुलुकको अर्थतन्त्र ऋणात्मक बनिरहेको, कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको छ, यसबाट मुक्त हुनका लागि सरकारले आवश्यक नीति, कार्यक्रम र बजेटको कार्यान्वयन गर्नेछ”, उहाँले भन्नुभयो । न्यूनतम साझा कार्यक्रमको जगमा नीति, बजेट तथा कार्यक्रम ल्याउने जनाउँदै उपप्रधानमन्त्री खड्काले कर्णालीको विकासमा निर्वाचनको समयमा गरेका प्रतिबद्धताका आधारमा अगाडि बढ्ने बताउनुभयो ।


