नेपालगन्ज फोटो फेस्टिभल विजेताहरुलाई पुरस्कृत गर्दै सम्पन्न
तेस्रो नेपालगन्ज फोटो फेस्टिभल विजेताहरुलाई पुरस्कृत गर्दै सम्पन्न भएको छ । अन्तरालको आयोजना तथा व्यवस्थापनमा दुई दिन सम्म चलेको फेस्टिभलका विजेताहरुलाई समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ , राखेप सदस्य अन्जन धमला, केलएल दुगड ग्रुपका प्रमुख कार्यकारी अधिकृत प्रदिप छाजेड , अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाह , निर्णायक टिमका संयोजक विकास कार्की र रमेश मल्लले पुरस्कृत गरेका थिए ।
‘वर्ष फोटो’ विजेता मुगुका पत्रकार राज बहादुर शाहीलाई नगद २५ हजार ५ सय ५५ रुपैया सहित प्रमाणपत्र प्रदान गरिएको थियो । यसैगरी खेलकुद विधाका विजेता सत्यम जोशी, पर्यटन विधाका विजेता सृजना ओली, संस्कृति तर्फको विजेता बबि साई, प्रकृति र संरक्षण तर्फको विजेता श्रीराम खत्री, दैनिक जीवन तर्फ मनोज पौडेल, कृषि तर्फ राज बहादुर शाही, नेपाल स्माईल र समाचार विधाका विजेता अंगद ढकाललाई नगद जनही ५ हजार र प्रमाणपत्र प्रदान गरियो । 
दुई दिन सम्म चलेको फेस्टिभल करिब ३ हजार जनाले अवलोकन गरेका थिए । त्यस्तै वैशाख २१ गते प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘ज्याकी : आईएम ट्वान्टी वान’ का नायक धिरज मगर, नायिका जसिता गुरुङ लगायत चलचित्रको टिमले समेत नेपालगन्ज आएको मौका पारी फोटो फेस्टिभल अवोलकन गरेका थिए ।
शुक्रबार देखि सुरु भएको फेस्टिभलको नेपाली कांग्रेसका सह-महामन्त्री एवम् बाँके क्षेत्रं ३ का संघिय सांसद किशोर राठौरले उद्घाटन गरेका थिए ।
बागेश्वरी असल शासन क्लब , नेपालगन्ज ग्यालरी र रक्षकको सहकार्यमा भएको फोटो फेस्टिभलमा देशभरबाट आएका २ हजार बढी फोटोबाट प्रतियोगिता छानिएका ८ विधाका १ सय ५१ फोटोहरु र यस क्षेत्रको सर्वाधिक चर्चित फेसबुक ग्रुप नेपालगन्ज ग्यालरीको सहकार्यमा १ सय १ फोटोहरु ‘ एक से एक तस्बीरमा बाँके ‘ भनेर प्रदर्शनीमा राखिएको थियो ।


