३१ जेष्ठ २०८१, बिहीबार

नेपाली र दक्षिण भारतीय निर्माताले एकअर्काका फिल्म ओटिटीमा रिलिज गर्ने

एसीपी संवाददाता

१२ बैशाख २०८०, मंगलवार ०५:४५ मा प्रकाशित

नेपाल र भारतका दुई फिल्म सम्बद्ध संस्थाहरू आफ्नो मुलुकमा बनेका फिल्मलाई एकअर्काको देशमा रहेका ओटिटी र हलमा रिलिज गर्न सहमत भएका छन्।

आइतबार चलचित्र विकास बोर्डमा आयोजित इन्डो–नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३ मा यस्तो सहमति जुटेको हो।

नेपाल फिल्म प्रमोसन सर्किट (एनएफपीसी) र फिल्म एन्ड टेलिभिजन प्रमोसन काउन्सिल (एफटिपिसी)बीच दुई मुलुकबीच संस्कृतिसँगै फिल्मको बजार आदानप्रदान गर्ने सहमति जुटेको हो।

समिटको प्रमुख अतिथिको रूपमा सहभागी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले द्विपक्षीय सहमतिलाई नेपाली फिल्मको हितमा प्रयोग गर्न आग्रह गरे।

नेपालमा छायांकन हुने दक्षिण भारतीय फिल्मलाई स्वागत गर्न बोर्ड आतुर रहेको बताउँदै उनले एकअर्काको बजार खोज्ने कुरा सकारात्मक रहेको चर्चा गरे।

एनएफपिसिकी अध्यक्ष नूतन न्यौपानेले सांस्कृतिक आदाप्रदानको रूपमा आफूहूरूले एकअर्काको फिल्मलाई रिलिज गर्ने तयारी गरिरहेको बताइन्।

उनका अनुसार नेपाली फिल्मलाई तेलुगु भाषामा डबिङ गरेर दक्षिण भारतका ओटिटीमा रिलिज गरिनेछ। यसका लागि आफूहरूसँग १५ देखि १८ वटा ओटिटी प्लेटफर्म रहेको जानकारी उनले दिइन् ।

‘राम्रा र स्तरीय नेपाली फिल्मलाई दक्षिण भारतीय ओटिटी प्लेटफर्ममा रिलिज गर्ने हाम्रो तयारी छ। जतिसक्दो चाँडो फिल्म रिलिज हुनेछ,’ उनले भनिन्, ‘जसले गर्दा नेपाली फिल्म पर्यटनदेखि बजारीकरणसम्म फाइदा हुने हामीलाई विश्वास छ।’

एनएफपिसी महासचिव तथा निर्देशक हिमाल न्यौपानेले स्तरीय दक्षिण भारतीय फिल्मलाई नेपाली ओटिटी प्लेटफर्म र हलमा रिलिज गर्नेबारे गृहकार्य भैरहेको बताए। ‘नेपाली फिल्मलाई केरला र तामिलसहितका दक्षिण भारतीय राज्यमा रिलिज गर्ने योजना छ,’ उनले भने, ‘नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण होस् भन्ने हाम्रो चाहना हो।’

एफटिपिसी सचिव पिभिएस बर्माले नेपाल र भारतबीच कला र सांस्कृतिक आदानप्रदान गर्न आफूहरू लागिपरेको बताए । ‘फिल्म आदानप्रदान भनेको व्यवसायको सम्भावना, प्रविधि र कास्ट एन्ड क्रिउ आदानप्रदान पनि हो,’ बर्माले भने, ‘फिल्ममार्फत हामी दुई देशबीच प्रशस्त सम्भावना विस्तार गर्न चाहन्छौँ।’

एफटिपिसी अध्यक्ष चैतन्य जंगको नेतृत्वमा दक्षिण भारतीय फिल्म टोली केही दिनदेखि काठमाडौंमा छ। टोलीले नेपाली फिल्मको बजार र सम्भावनाबारे अध्ययन गरिरहेको छ। समारोहमा अध्यक्ष जंगले नेपाल र भारतबीच छायांकन थलो आदानप्रदान पनि महत्वपूर्ण पक्ष बन्न सक्ने बताए।

वक्ताहरूले एकअर्कोको मुलुकमा संयुक्त लगानीका फिल्म निर्माणको सम्भावनाबारे पनि जोड दिएका थिए। अभिनेता कृष्ण मल्लले द्विपक्षीय सहमतिका लागि शुभकामना दिए।

समिटको क्रममा नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय गर्न महत्वपूर्ण भूमिका खेल्ने कलाकार, संगीतकर्मी, प्रदर्शक, निर्माता र निर्देशकलाई सम्मान प्रदान गरिएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x